काठमाडौँ। ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग ‘बयान’ लिएको छ।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालसँग आइतबार राति र नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराईसँग सोमबार विहान बयान कागज गराएको सीआईबीका अधिकृतहरु बताउँछन्।
पूर्वप्रधानमन्त्री डा.भट्टराई पनि ललिता निवास प्रकरणमा आफ्नो मन्त्रिपरिषद्बाट गरिएको निर्णयसम्बन्धी सत्यतथ्य जानकारी सीआईबीलाई दिएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन्। १२ असारमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई नियन्त्रणमा लिएर ललिता निवास जग्गा प्रकरणको फाइल पुनःखोलेको सीआईबीले पूर्वप्रधानमन्त्री नेपाल र डा.भट्टराईलाई बयान लिन्छ कि लिन्ने भन्ने प्रश्न सुरुदेखि पेचिलो बनेको थियो।
किनकी बहालवाला सचिव, पूर्वनिर्वाचन आयुक्त लगायतलाई पक्राउ गरेको प्रहरीले पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्रीहरुलाई समेत नियन्त्रणमा लिएको थिएन। यो विषय अनुसन्धानका पूर्व प्रधानमन्त्रीहरुसम्म पुग्ने नपुग्ने अलमल थियो।
तर, ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पूर्वकर्मचारी योगराज पौडेलले पेश गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएपछि भने चासो दुई पूर्वप्रधानमन्त्रीतिर सोझियो।
फैसलामा पूर्वप्रधानमन्त्रीको नाम नतोके पनि पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिम पिरामिडको माथिल्लो तह) बाटै अनुसन्धान गर्न भनिएको थियो। त्यसपछि सीआईबीले पूर्वप्रधानमन्त्री नेपाल र डा.भट्टराईको बयान लिने निर्णय गरेको थियो। सीआईबी नेतृत्वले नेपाल र भट्टराईको सचिवालयलाई बयानका लागि आउनुपर्ने परिस्थिति बनेको भन्दै जानकारी गरायो। ललिता निवास प्रकरणको अनुसन्धानमा संलग्न अधिकृतहरुले पूर्वप्रधानमन्त्रीद्वयलाई सोध्ने प्रश्नावली पनि तयार पारेका थिए।
सुदूरपश्चिम भ्रमणमा रहेका डा.भट्टराई पनि हतारिएर काठमाडौं आएका थिए। युरोप पुगेका माधवकुमार नेपाल पनि सीआईबीकै सूचनाका आधारमा भ्रमण छोट्याएर २९ साउनमा काठमाडौं आइपुगे। स्रोतका अनुसार बयान दिन तयार भएरै उनी आएका थिए।