सुर्खेत। आज कर्णाली प्रदेशले आफ्नो स्थापना दिवस मनाउँने भएको छ।
२३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेको विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो। एकातिर साविक कर्णालीको मात्र अलग प्रदेश र अर्कातिर मध्यपश्चिम क्षेत्रलाई अखण्ड मध्यपश्चिम कायम गरेर प्रदेश घोषणा गर्नुपर्ने आवाजहरु उठेका थिए।
यद्यपि २३ साउन ०७२ को मध्यराति प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित संविधान सभाको विशेष समितिले ६ प्रदेशको सिमाङ्कनसहित संघीयताको खाका सार्वजनिक ग¥यो। त्यसपछि उक्त निर्णय विरुद्ध कर्णालीले बिद्रोह गर्नुपर्यो।
२४ साउनदेखिनै अखण्ड मध्यपश्चिमका ब्यानरमा सुर्खेतबाट आन्दोलन सुरु भई १० वटै जिल्लामा फैलिएको थियो। आन्दोलनमा सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले साहदत प्राप्त गरेका थिए।
आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन सरकारले ४ भदौ, ०७२ मा कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लासहित १० वटा जिल्ला जोडेर ६ नम्बर प्रदेश घोषणा गरेको थियो।
त्यो बेला जनताहरु आन्दोलनमा उत्रिएपछि मात्रै राजनीतिक दलहरु सडकमा आउन बाध्य भएका थिए । पछि १२ फागुन, ०७४ मा बसेको कर्णाली प्रदेश सभा बैठकले ‘कर्णाली प्रदेश’ नामाकरण गरेको थियो।
कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ। आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो।
२९ चैत्र, २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा कार्यक्रम राखिएको छ। उक्त कार्यक्रमका सहिद परिवारका सदस्यलाइ सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं कानुन मनत्री कृष्णबहादुर जिसीले बताए।
१० बजेदेखि सुरु हुने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ पनि सहभागी हुने छन्। साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनेछन्।