संघीय शिक्षा ऐनमा ‘एक्यान’ को गम्भीर ध्यानाकर्षण (विज्ञप्तिसहित)



काठमाडौँ। सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा समावेश शैक्षिक परामर्श व्यवशायमा धरौटी राख्ने मस्यौदाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार (एक्यान) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गर्दै गर्दा त्यसमा समावेश शैक्षिक परामर्श व्यवशायमा धरौटी राख्ने मस्यौदाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। शैक्षिक परामर्श व्यवशाय आफैंमा सेवामूलक व्यवशाय रहेको र उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले ति शिक्षण संस्थामा तिर्नुपर्ने सम्पूर्ण शुल्क सम्बन्धित कलेजकै खातामा जम्मा गर्ने प्रक्रिया जगजाहेर नै छ। तर, विद्यार्थीको सम्पूर्ण लागत रकम नै परामर्शदाताहरुले आफैँ बुझ्ने गरेको जसरी परामर्श व्यवशायलाई नै धराशायी बनाउने ढंगले धरौटीमा जानुपर्ने जुन प्रावधान प्रस्ताव गरिएको छ, त्यसप्रति एक्यान गम्भीर असहमति जाहेर गर्दछ।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘विद्यार्थीहरुले भाषा परीक्षा तथा विदेशमा अध्ययन गर्न जाँदा लाग्ने सम्पूर्ण रकम सोझै सम्बन्धित संस्थामा आफ्नो व्यक्तिगत बैंक खातामार्फत जम्मा गर्ने हुँदा त्यस्तो लगानीको सुरक्षाका लागि भन्दै तत्सम्बन्धी आर्थिक कारोबारमा कुनै भूमिका नै नरहेका परामर्श व्यवशायीहरुलाई जबर्जस्ती सुरक्षण धरौटीमा बाध्य पार्न खोजिए त्यसले भोलिका दिनमा विकराल समस्या निम्त्याउन सक्छ। हाल राज्यको बुझाइ र केही संचारमाध्यमहरुमा आएजस्तो उच्च शिक्षा अध्धयनका लागि विदेश जाने विद्यार्थीहरुबाट ठूलो मात्रामा पूँजी पलायन र दक्ष जनशक्ति पलायनको कुरा जापान जाने विद्यार्थीहरुमा लागू नहुने स्पष्ट पार्न चाहन्छौं।’