कम्युनिस्ट क्रान्ति कहाँ पुग्यो ?



१. आजभन्दा ठिक ७४ वर्षअघि क. पुष्पलालको अगुवाइ र नेतृत्वमा क. नरबहादुर कर्माचार्य, क. निरञ्जनगोविन्द वैद्य, क. नारायण विलास, क. मोतीदेवी श्रेष्ठलगायत पाँचजनाले नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक स्थापना गर्नुभएको थियो । यो नेपाली समाजमा विकसित भइरहेको वर्गसंघर्षको अनिवार्य परिणाम थियो । जब मार्क्सवाद लेनिनवादको वैज्ञानिक प्रकाश नेपालको श्रमिक वर्गले चलाउँदै आएको सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्रज्यवाद तथा प्रतिक्रियावादविरुद्धको संघर्षको प्रवाहसँग एकाकार बन्न पुग्यो, तब नै हाम्रो देशमा पनि कम्युनिस्ट पार्टीको स्थापना भयो ।

कम्युनिस्ट पार्टीको स्थापना नेपालको राजनीतिक घटना प्रवाहमा एउटा दूरगामी ऐतिहासिक परिघटना थियो । यो नेपाली समाजमा विकसित भएको एउटा वैचारिक, राजनीतिक, सैद्धान्तिक, दार्शनिक र सांस्कृतिक क्रान्तिको द्योतक पनि थियो । त्यसभन्दा अघिसम्म हामी सबै नेपालीहरू स्वयं नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र भावी भविष्यबारे प्रायः अनभिज्ञ र दिशाविहीन नै थियौँ । तर, मार्क्सवाद–लेनिनवादको वैज्ञानिक प्रकाश र कम्युनिस्ट पार्टीको स्थापनाले नेपाली श्रमिकहरू र आमजनताको आँखा खोलिदियो । हामीले समग्र समाजलाई, हाम्रो इतिहास, वर्तमान र भविष्यलाई, हाम्रो वरिपरिको वातावरणलाई र शासक वर्गको जहानियाँ तानाशाहीसमेतलाई हेर्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने एउटा दिव्य वैज्ञानिक दृष्टिकोण प्राप्त गर्‍यौँ ।

ठिक त्यसैवेलादेखि नेपालमा संगठित रूपमा कम्युनिस्ट आन्दोलनको सुरुवात भयो । नेपाली जनताले सञ्चालन गर्दै आएको सामन्तवाद, साम्राज्यवाद र निरंकुश राणाशासनविरोधी संघर्षले नयाँ जनवादी आन्दोलन वा क्रान्तिको स्वरूप ग्रहण ग¥यो । ठिक त्यही बिन्दुदेखि नै नेपालको श्रमिक वर्ग सामाजिक विकास क्रममा विकसित भएको ‘वर्ग आफैँमा’बाट नेपाली क्रान्तिको ‘वर्ग सचेत नेता’ वर्गको रूपमा विकसित भयो । त्यसैले कम्युनिस्ट पार्टीको स्थापना अन्य सबै देशका जनताका निम्तिजस्तै हाम्रो देशका जनताका निम्ति पनि एउटा दूरगामी महत्वको गौरवपूर्ण घटना पनि हो । त्यसवेलादेखि नेपाली श्रमिक वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टीले देशी र विदेशी प्रतिक्रियावादका विभिन्न प्रतिनिधि शासक गुटहरूविरुद्ध वीरतापूर्ण ढङ्ले संघर्ष गर्दै सबै वर्ग, तह र समुदायका नेपाली जनतालाई मूलतः सफलतापूर्वक नेतृत्व गर्दै आएको छ र यो ७४ वर्षको अवधिमा महत्वपूर्ण सफलताहरू पनि प्राप्त गर्दै आएको छ ।

. कुनै पनि राजनीतिक पार्टीका आ–आफ्नै उद्देश्य हुन्छन् । पुँजीवादी पार्टीहरूका पनि उनीहरूको वर्गचरित्रअनुरूप नै पुँजीवादी वर्ग र पुँजीवादी व्यवस्थाको हित गर्ने विशेष उद्देश्य हुन्छन् । पुँजीवादी पार्टीका नेताहरू नौरंगी प्रकारका कला भर्न सिपालु पनि हुन्छन् र ती कलाका आधारमा उनीहरू आफ्नो स्थापना उद्देश्यलाई विभिन्न रङ भरेर प्रस्तुत पनि गर्ने गर्छन् । तर, उनीहरूको अन्तिम उद्देश्य पुँजीवादको रक्षा गर्नु, श्रमजीवी जनतामाथि निर्ममतापूर्वक शोषण गर्नु र मुलुकको श्रीसम्पत्तिमाथि ब्रह्मलुट मच्चाउँदै आफ्नो वर्गीय अधिनायकत्व सञ्चालन गर्नु नै हो ।

तर, श्रमजीवी वर्गको पार्टी कम्युनिस्ट पार्टीले आफ्ना स्थापना उद्देश्यलाई रंगिविरंगी बनाएर प्रस्तुत गर्नुपर्ने आवश्यकता नै पर्दैन । श्रमजीवी वर्गको पार्टीले आफ्ना राजनीतिक ध्येय र उद्देश्यलाई कहिल्यै लुकाउँदैन । पुँजीवादी पार्टीहरू ‘जनता पार्टी’, ‘समाजवादी पार्टी’, ‘प्रगतिशील पार्टी’, ‘स्वतन्त्र पार्टी’, ‘जनमुक्ति पार्टी’ र ‘नयाँ जनवादी पार्टी’जस्ता नाम राख्ने गर्छन् । यी जनताका आँखामा छारो हाल्नका निम्ति उनीहरूले राखेका रंगिविरंगी नामहरू मात्र हुन् । कहिलेकाहीँ वर्गीय रूपले असचेत जनता त्यस्तै नामबाट पनि झुक्किने गर्छन् । तर, श्रमजीवी जनताको पार्टी– कम्युनिस्ट पार्टी कहिल्यै इन्द्रेणी कुरा गर्दैन र इन्द्रेणी नामकरण पनि गर्दैन । कम्युनिस्ट पार्टीको नाम नै प्रस्ट छ, ऊ समग्र समाजलाई वैज्ञानिक साम्यवादसम्म पुर्‍याउन चाहन्छ ।

माक्र्स र ऐंगेल्सको पालातिर कम्युनिस्ट पार्टीका नामहरू ‘समाजवादी पार्टी’, ‘सामाजिक जनवादी पार्टी’, ‘श्रमिक पार्टी’ र ‘कम्युनिस्ट पार्टी’जस्ता विभिन्न खाले नामकरण गरिएका पार्टी थिए । तिनीहरू पहिलो र दोस्रो अन्तर्राष्ट्रियका घटक पनि थिए । लेनिनले नेतृत्व गर्नुभएको पार्टीको नाम पनि त्यसवेला ‘रुसी सामाजिक जनवादी मजदुर पार्टी’ थियो । तर, रुसमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर सोभियत संघको स्थापना गरेपछि भने लेनिनले अब अन्तर्राष्ट्रियको नाम नै ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय’ राख्ने र आम रूपमा सबै श्रमजीवी जनताका पार्टीहरूले आफ्नो अन्तिम उद्देश्यलाई समेत अंकित गर्ने उद्देश्यले ‘कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव गर्नुभयो । त्यसपछि सोभियत संघका साथै विश्वकै सबैजसो देशका श्रमजीवी वर्गका पार्टीहरूले आफूलाई कम्युनिस्ट पार्टीका रूपमा संगठित गर्न थाले । एकाधले श्रमिक पार्टी पनि नाम राखे, तर त्यसपछिको कालखण्डमा विश्वव्यापी रूपमा प्रत्येक देशका श्रमजीवी वर्गीय पार्टीहरूले आफूलाई आ–आफ्नो देशको कम्युनिस्ट पार्टी नै भनेर नामकरण गदैँ आएका छन् ।

ठिक यही विश्वव्यापी ऐतिहासिक प्रक्रियाको उपज हो–  नेपाल कम्युनिस्ट पार्टी पनि । त्यसैले हाम्रो पनि उद्देश्य बिल्कुल खुलस्त छ । यो पार्टी नेपाली समाज र जनतालाई वैज्ञानिक समाजवाद र साम्यवादसम्म मार्गदर्शन गर्ने पार्टी हो । कमरेडहरू ! हामी सबै कम्युनिस्ट क्रान्तिकारी त्यो महान् दीर्घयात्राका सहयात्री हाैँ । यो मानवमुक्तिको बाटो हो । यो सम्पूर्ण मानव जातिलाई साम्राज्यवाद, पुँजीवाद र सबै प्रकारका प्रतिक्रियावादी, जनविरोधी, शासन, शोषण, अन्याय र अत्याचारबाट मुक्ति दिलाउने बाटो हो । हामी कम्युनिस्ट क्रान्तिकारीहरू यो गौरवपूर्ण बाटोमा हिँडिरहेका छौँ र आफ्नो स्थापना लक्ष्य पूरा गर्न दृढ प्रतिज्ञाका साथ अघि बढिरहेका छाैँ ।

३. यो गौरवपूर्ण यात्राका सहयात्रीले हाम्रो स्थापनाको लक्ष्य कहिल्यै सपनामा पनि बिर्सन हुँदैन । त्यसो भए हाम्रो पार्टीका स्थापना उद्देश्य के थिए त ? हामीले ती उद्देश्यलाई समग्र र सूत्रबद्ध रूपमा बुझ्नुपर्छ । ती उद्देश्य निम्नबमोजिम थिए :

क. सामन्तवादलाई नेपाली समाजबाट पूर्ण रूपले उन्मूलन गर्ने
ख. दलाल नोकरशाही पुँजीवादलाई पनि पूर्ण रूपले उन्मूलन गर्ने
ग. नयाँ जनवादको स्थापना गर्ने
घ. साम्राज्यवाद, प्रभुत्ववाद, उपनिवेशवाद, नवउपनिवेशवादबाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने
ङ. जनवादबाट अघि बढेर वैज्ञानिक समाजवाद स्थापना गर्ने र समाजवादबाट सबै प्रकारका वर्गीय शोषण, उत्पीडन र सबै प्रकारका सामाजिक भेदभावलाई समेत उन्मूलन गरेर वैज्ञानिक साम्यवादमा पुग्ने ।

यी सबैले बुझ्ने भाषामा अघि सरिएका हाम्रा स्थापना लक्ष्य हुन् । चाहे नेपालमा निरंकुश राणाशासन रहेको अवस्थामा होस्, चाहे निरंकुश राजतन्त्र रहेको अवस्थामा होस्, चाहे निर्दलीय निरंकुश पञ्चायती व्यवस्था रहेको पालामा होस, चाहे ज्ञानेन्द्रको तानाशाही शासन रहेको अवस्थामा होस्, चाहे आजको संघीय लोकतान्त्रिक गणतन्त्र नामको पुँजीवादी संसदीय लोकतन्त्र रहेको अवस्थामा होस्, हामीले लक्ष्य सबैसामु छर्लंग हुने गरी अघि सारेका छौँ । नेपाली श्रमिक वर्ग र शोषण उत्पीडनमा रहेका सम्पूर्ण वर्ग, जाति, जनजाति, दलित र अल्पसंख्यक जनतालाई अझ प्रस्ट रूपले बताउन र बुझाउन चाहन्छाँै । पार्टीका यी पाँचवटा स्थापना लक्ष्य हुन् । ती लक्ष्य प्राप्त नगरी हामीले विश्राम गर्न सम्भव छैन । ती सबै उद्देश्य एउटै पुस्ताले मात्र पूरा नगर्न सक्छ । त्यसका निम्ति अनेकौँ पुस्तासम्म संघर्ष गर्नुपर्ने हुन्छ । तर, हाम्रो संघर्ष लगातार अघि बढिरहन्छ र बढाउँदै लानुपर्छ ।

यो सिंगो मानव समाजको यात्रा पनि हो । यो विश्वव्यापी रूपमा अघि बढ्दै छ । यो करोडौँ मात्र होइन, यो अर्बाैँ जनताको यात्रा हो । यो यात्रालाई साम्रज्यवादले रोक्न सक्दैन, प्रभुत्ववादले पनि रोक्न सक्दैन र युद्धले पनि रोक्न सक्दैन । पहिलो र दोस्रो विश्वयुद्धजस्ता विनाशका चक्रहरूले पनि यो यात्रालाई रोक्न सकेन । यो यात्रालाई आजका आणविक बम, अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र र अत्याधुनिक टैंकहरू तथा खतरनाक क्षेप्यास्त्रहरूले पनि रोक्न सक्दैनन् ।

यहाँसम्म कि आजको सुपरसोनी मिसाइलहरूले पनि यो माहायात्रालाई रोक्न सक्दैनन् । माओत्सेतुङले भनेजस्तै यी सबै अत्याधुनिक खतरनाक र विध्वंसकारी हतियार मानवमुक्तिको महायात्राका सामु कागजी बाघबाहेक केही होइनन् । जनताजति शक्तिशाली यो धर्तीमा अर्को कुनै हुन सक्दैन ।

आजसम्मका सम्पूर्ण परिवर्तन र अग्रगतिका वाहक जनता नै हुन् । आजका सबै सभ्यता, शृंखलाहरूका निर्माता जनता नै हुन् । माथिका सबै हतियार निर्माण गर्ने प्रविधि जन्माउने वैज्ञानिकहरू पनि जनता नै हुन् । प्रतिक्रियावादीहरूले ती प्रविधिलाई, विज्ञानका अनुपम उपलब्धि आफ्नो निजी स्वार्थका निम्ति प्रयोग गरिरहेका छन् र जनता राष्ट्रहरू र मानव सभ्यतालाई विध्वंस गर्ने हतियार बनाइरहेका छन् ।

मैले यो लेख लेखिरहँदा २०२२ को मात्र विश्वको सैनिक बजेट २२ खर्ब ४० अर्ब अमेरिकी डलर पुगिसकेको छ । यो रकम आजको तेस्रो विश्वका जनता र मुलुकहरूले मात्र पाउने हो भने उनीहरूको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, उद्योगधन्दाको स्तरलाई कति राम्रो बनाउने सकिन्थ्यो होला । हाम्रो देशलाई पनि पश्चिममा साम्राज्यवादीहरू भूराजनीतिक प्रतिस्पर्धाको थलो बनाउन चाहन्छन् ।

एमसिसी सम्झौता, स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)का साथसाथै अमेरिकी मन्त्रीहरू र अमेरिकी सेनाका एकपछि अर्को टुकडीहरूको नेपाल भ्रमण त्यही उद्देश्यलक्षित छन् । त्यति मात्र होइन, उनीहरू यहाँ आएर सोझै तिब्बती शरणार्थी क्याम्पमा जाने गरेका छन् । उनीहरू तिब्बती ‘शरणार्थी’लाई ‘परिचय पत्र’ दिलाउन चाहन्छन् । कथित शरणार्थीका नाउँमा नेपालबाट चीनविरोधी क्रियाकलाप गराउन चाहन्छन् र नेपाललाई आफ्नो सैनिक विश्व रणनीतिको ‘चौकी’ बनाउन चाहन्छन् । नेपालका शासकले होसियारी अपनाउन सकेनन् भने नेपाल अर्को युक्रेन बन्न बेर छैन । हामीले यी सम्पूर्ण घटनाक्रमलाई समेत ध्यानमा राखेर हाम्रो पार्टीको स्थापना लक्ष्यलाई साकार पार्ने ऐतिहासिक काममा लाग्नुपर्छ ।

४. अहिलेसम्मको यो ७४ वर्षको यात्रामा हामीले हाम्रो पार्टीको स्थापना लक्ष्यका केही महत्वपूर्ण पक्षहरूलाई सम्पन्न गरिसकेका छौँ । हाम्रो पहिलो उद्देश्य थियो, सामन्तवादलाई नेपाली समाजबाट सम्पूर्ण रूपले उल्मूलन गर्ने । लामो संघर्षपछि हामीले यो लक्ष्यलाई सफलतापूर्वक पूरा गरेका छौँ । नेपालमा सामन्तवादलाई उन्मूलन गर्ने प्रक्रिया अंश–अंश गर्दै अघि बढ्दै आयो ।

प्रथमतः हामीले सन् १९५० मा जहानियाँ राणाशासनलाई अन्त्य गर्‍यौँ । दोस्रोमा, मुलुकको वित्तीय प्रणालीमा आएको नयाँ विकास र आमजनतामा बढ्दै गएको जागरणका क्रममा सयौँ वर्षदेखि जारी रहेको जागिरदारी प्रथा पनि त्यही क्रममा उन्मूलन भयो । तेस्रो, किसानहरूको बढ्दो जागरण र ठुल्ठूला किसान आन्दोलनहरू उठ्दै गएको पृष्ठभूमिमा राणाशासनले लामो समयदेखि जारी राखेको ‘बिर्ताप्रथा’ पनि २०१६ (सन् १९५९) सालमा उन्मूलन गरियो ।

चौथो, जनताको बढ्दो विरोध र असन्तोषलाई ध्यानमा राखेर राजा महेन्द्रले २०२१ (सन् १९६४) सालमा भूमिसुधार लागू गरे । त्यसले जमिनको हदबन्दी तोकिदियो र मोहियानी हक पनि प्रदान गर्‍यो । त्यसले असीमित जमिनदारी प्रथालाई पनि अन्त्य गर्‍यो । पाँचौँ, नेपाली समाजमा सामन्तवादको अझै अर्को रूप थियो । त्यो हो राजा–रजौटा प्रथा । देशका विभिन्न ठाउँमा साना–छोटा रजौटा थिए । ती रजौटामा राजा पनि थिए । उनीहरूले आफ्नै राज्यबाट निश्चित सहुलियत लिने काम गर्थे । जनताबाट करलगायत विभिन्न सहुलियत लिने गर्थे । महेन्द्रका पालामा उक्त राजारजौटा प्रथा पनि उन्मूलन गरियो ।

छैटौँ, त्यही सिलसिलामा २०४६ (सन् १९९०) सालको परिवर्तनपछि मुलुकलाई पुँजीवादीकरण गर्ने प्रक्रिया धेरै तीव्र बन्यो । सहरमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि ज्यालादारी श्रमशोषण गर्ने पुँजीवादी पद्धति व्यापक बन्दै गयो । त्यसले अर्ध–सामन्तवादलाई पनि अझै धेरै विघटित गर्दै लग्यो । सातौँ, यसरी आर्थिक आधारमा सामन्तवाद क्रमिक रूपले कमजोर हुँदै गइरहेको थियो ।

पुँजीवादी उत्पादन सम्बन्ध विस्तृत हुँदै गइरहेको थियो । त्यसले गर्दा आर्थिक आधारमा फैलिरहेको पुँजीवाद र अधिसंरचनामा रहेको राजतन्त्रका बीचको अन्तर्विरोध चर्को बनिरहेको थियो । ठिक त्यही वेलामा राजा ज्ञानेन्द्रले जब १९ माघको घटना घटाए, तब तानाशाही राजतन्त्रविरुद्ध आमजनताको असन्तोष, विरोध र आक्रोश विस्फोटक बन्यो । त्यो अन्तर्विरोध अघि बढेर जनक्रान्तिका रूपमा विस्फोटित हुन पुग्यो । फलस्वरूप नेपाली समाजबाट आर्थिक आधार र अधिसंरचना दुवै तहबाट सामन्तवादलाई हामीले सफलतापूर्वक उन्मूलन गर्‍यौँ । यसरी हामीले हाम्रो महान् पार्टी नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको स्थापना उद्देश्यमध्ये एउटा पूरा भयो । यो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा ऐतिहासिक उपलब्धि हो । नेपाली समाजले यसरी सामन्तवादबाट सदाका निम्ति मुक्ति प्राप्त गरेर आफूलाई पुँजीवादको चरणमा उठाएको छ ।

५. त्यसका साथै हाम्रो मुलुकमा हामीले जतिवेला नयाँ जनवादी क्रान्तिको थालनी गरेका थियौँ, त्यतिवेला हामीले सुरुमा निरंकुश जहानियाँ राणाशासनविरुद्ध संघर्ष गर्‍यौँ । त्यो सामन्ती निरंकुशतावादविरुद्धको संघर्ष थियो । त्यो संघर्ष छोटो समयमा समाप्त भयो । तर, त्यसपछि फेरि राणाशासनको ठाउँ राजतन्त्रले लियो । हामीले २००७–०१७ सालसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यतिवेला हाम्रो पार्टी भर्खरै विकास हुँदै थियो । तर, राजतन्त्रविरुद्ध संघर्ष गर्ने पर्याप्त क्रान्तिकारी शक्ति विकास गरिसकेको थिएन । त्यस्तो अवस्थामा तत्कालीन राजा महेन्द्रले २०१७ सालको घटना गराए ।

त्यसले गर्दा हामीले राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध जनताको लोकतन्त्रको संघर्षलार्ई अघि बढाउनुप¥यो । पञ्चायती व्यवस्था एउटा निरंकुश र निर्दलीय व्यवस्था थियो । त्यसले जनताका मौलिक हकलाई हरप्रकारले दबाउने काम गरेको थियो । नयाँ जनवादको झन्डा उचालेर अघि बढ्ने जनलडाकुलाई पञ्चायतले एकपछि अर्को दमन र हत्या ग¥यो । सुखानी हत्याकाण्ड, छितान्ङ हत्याकाण्ड, पिस्कर हत्याकाण्ड, इभाङ हत्याकाण्ड, भिमान हत्याकाण्ड, दाङ हत्याकाण्ड त्यसवेला राजा र पञ्चहरूले गरेका केही प्रतिनिधि हत्याकाण्ड हुन् ।

यी सम्पूर्ण हत्याकाण्डका बाबजुद नेपाली कम्युनिस्ट आन्दोलन ३० को दशकमा आएपछि पुनर्गठन, एकता र एकीकरणको मार्गमा तीव्र रूपले अघि बढ्दै गयो । ४० को दशकमा पुगेपछि नेपाली जनवादी क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, रणनीति र कार्यनीतिहरू, क्रान्तिको बाटो तथा संगठनात्मक सिद्धान्तहरूको समग्र शृंखला व्यवस्थित भयो । त्यसले गर्दा कम्युनिस्ट एकता पनि फराकिलो बन्दै गयो । अझ अघि बढेर प्रधान शत्रुविरुद्ध संयुक्त संघर्षलाई अघि बढाउन संयुक्त वाममोर्चा पनि गठन भयो । त्यति मात्र होइन, निरंकुशता र निर्दलीयताविरुद्धका सबै शक्तिबीच कार्यगत एकता भयो र संयुक्त जनआन्दोलनको लहर सिर्जना गरियो । परिणामस्वरूप ०४६ सालको परिवर्तन भयो । यसरी सामन्ती निरंकुशताको आधारका रूपमा रहेको पञ्चायती शासनलाई पनि समाप्त गरियो ।

त्यसपछि मुलुकमा पुँजीवादी बहुदलीय जनवाद स्थापना भयो । तर, राजतन्त्रले आफूलाई संविधानबमोजिम संवैधानिक राजतन्त्रको बाटोमा हिँडाउन सकेन । अर्कोतिर नेकपा (माओवादी) पार्टीले सशस्त्र संघर्षको सुरुवात गर्‍यो । त्यसबीच बहुमत प्राप्त कांग्रेसको सरकारले जनताको हितमा केही गर्न सकेन । बरु उल्टो उदारीकरण र निजकिरणको नाउँमा देशको राष्ट्रिय उद्योगधन्दा र अर्थतन्त्रलाई तहसनहस पार्दै लग्यो । त्यहबीचमा माओवादीहरूको सशस्त्र संघर्ष फैलिँदै गयो । त्यसले देशको विकास प्रक्रियालाई करिब रोकि नै दियो । त्यसले गर्दा देश चौतर्फी रूपले संकटतिर धसिँदै गयो ।

यसैबीच तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघको घटना गराए । सबै पार्टीमाथि प्रतिबन्ध लगाए, प्रेसलाई प्रतिबन्ध लगाए, सञ्चारका साधन बन्द गरिए, रेडियो, एफएम र टेलिभिजनमा कडा सेन्सरसिप लगाइयो र अधिकांश पार्टीका नेतालाई गिरफ्तार गरियो । यो लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिन थियो । ठिक त्यही दिनबाट हामीले राजतन्त्रविरुद्ध पूर्ण प्रजातन्त्र (गणतन्त्र) को नारा दिएर संयुक्त संघर्षको आह्वान गर्‍याे । राजतन्त्रविरुद्ध सात पार्टीको ऐतिहासिक राजनीतिक मोर्चा खडा गर्‍यौँ र संयुक्त आन्दोलनको ज्वारभाटा सिर्जना गर्‍यौँ । त्यो आन्दोलन हरेक दिन फैलिँदै र व्यापक बन्दै गयो ।

आखिर नेकपा (माओवादी) ले समेत संयुक्त आन्दोलनमा आउने निर्णय गर्‍यो । त्यो अर्को महत्वपूर्ण प्रगतिशील निर्णय थियो । त्यसलगत्तै १२ बुँदे सहमति बन्यो । त्यसले जनताको राजतन्त्रविरोधी संघर्षलाई सातवटै प्रदेशमा विस्तृत र तीव्र बनाइदियो । आखिर त्यो संघर्षले नै जनक्रान्तिको रूप लियो र २०६२–०६३ को ऐतिहासिक परिवर्तन भयो । यो नेपालमा भएको पुँजीवादी जनवादी क्रान्ति हो ।

नयाँ जनवादी क्रान्ति भनेको पनि पुँजीवादी जनवादी क्रान्ति नै हो । तर, यो हाम्रो देशको विशिष्ट स्थितिमा श्रमिक वर्ग र पुँजीपति वर्ग दुवैको सहभागितामा सम्पन्न भयो र हामी हाम्रो देशको ठोस स्थितिअनुरूपको बाटोबाट पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने बिन्दुमा आइपुग्यौँ । यसरी हामीले क्रान्तिको पहिलो चरण पुँजीवादी जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरेर पार्टीको स्थापना लक्ष्यमध्ये न्यूनतम लक्ष्य पूरा गरेका छौँ ।

(नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक वर्ष तथा क.पुष्पलालको ४५औँ स्मृति–दिवसको सन्दर्भमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले राखेको मन्तव्य।)