काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी) का प्रमुख डा. अल्भारो लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।
भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा कृषि क्षेत्रमा आईएफएडीले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको थियो । त्यस्तै अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।
सोमबार नै उनले सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।