‘भ्रष्टाचारविरुद्ध हामीले सडकबाट साथ दिइरहेका छौं’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव ‘विप्लव’ सीले भ्रष्टाचारविरुद्ध आफूहरुले सडकबाट सरकारलाई सहयोग गरिरहेको स्पष्ट पारेका छन्।

साथै भ्रष्टाचारको विरुद्धमा माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताए । पुष्पलालको ४५औं स्मृतिका अवसरमा पुष्पलाल मित्रता केन्दले आयोजना गरेको ‘समाजवादी यात्राको चुनौती: भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठिलाई सम्बोधन गर्दै विप्लवले एनसेल, मानव तस्करहरुको विरुद्ध आफूहरुले सडकबाट आन्दोलन सुरुगर्दा तत्कालिन (केपी ओली) सरकारले राजनीतिक प्रतिवन्द लगाएको स्मरण गरे।

उनले भने,‘सायद नारायणकाजि गृहमन्त्री भएको भए त्यो समयमा हामीले सडकबाट सुरु गरेको भ्रष्टाचार विरुद्धको आन्दोलनमा साथ मिल्थ्यो। उल्टै राजनीतिक प्रतिवन्द लगाउने काम भयो।’

उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुसीको कुरा भएको बताए।

भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफैँ सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे। उनले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत बताए।

महासचिव विप्लवले दलाल पुँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिरसमेत गरे। यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको बुझाई थियो।