काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताएका छन् ।
संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् ।
‘संगठनमा कोही पनि अपरिहार्य हुँदैन । कसैले आफूलाई अपरिहार्य ठान्छ भने त्यो लोकतान्त्रिक प्रकृयाविरुद्ध हुन जान्छ,’ उनले भने, ‘त्यत्ति ठूलो व्यक्तित्व भएका बीपीबाट सिक्ने कुरा धेरै छन् । बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर, अरु नेता र मुलतः जनताको पनि कुरा सुन्नुहुन्थ्यो, ।’
‘बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो । एउटा सन्दर्भमा बीपीले यसो भन्नुभएको थियो, पार्टीले किन यसो गरेको मान्छेहरु भन्छन्,’ उनले भने, ‘बीपीको सिद्धान्त कांग्रेसले छोड्यो भन्छन् । तर होइन, हाम्रो लक्ष्य बीपीको विचारमा आधारित प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता हुनुपर्छ ।’
वनको उदाहरण दिँदै मन्त्री डा. महतले २०१५ सालमा नेपाली कांग्रेसको आर्थिक नीतिअन्तर्गत वन राष्ट्रियकरणको नीति थियो । बेच्नका लागि यो केही व्यक्तिको नियन्त्रणमा थियो । २०४८ सालमा हामीले सामुदायिक वनको अवधारणा ल्याइयो । २०१५ सालमै सामुदायिक वनमा लगिएको भए जनता तयार भइसकेका थिएनन् ।
२०४६ सम्म आइपुग्दा जनता धेरै शिक्षित भइसकेकाले गर्दा सामुदायिक वनको अवधारणा आयो । किनभने सरकारले नियन्त्रणमा राख्यो भने त्यसको रेखदेख राम्रो हुँदैन । समुदायलाई नै फाइदा र संरक्षणमा सहभागी गराइयो भने उपयुक्त हुन्छ । बीपीले ०१५ सालमा लिएको नीति पनि ठीक थियो, ०४८ मा कांग्रेसले लिएको नीति पनि ठीक थियो ।