आशावाद एउटा उर्जा हो । आशावाद बिनाको राजनीति कल्पनासमेत गर्न सकिन्न । आशावादले नयाँ क्षितिज खोल्ने कामगर्छ भने निराशाले अन्धकार निम्त्याउछ । आशावादीहरू प्रगतिशील मान्छे हुन् भने निराशावादीहरू यथास्थितिवादी । आज चिया पसल होस् कि सार्वजनिक स्थानमा । जहाँसुकै यो देश नेताले बिगारे, नयाँ पुराना सबै भ्रष्ट, चोर, यो देशमा केही छैन । गरिखाने अवस्था छैन । यस्तै गुनासा, निराशा र कुण्ठाहरु सुन्न पाइन्छ । यो अवस्था किन आयो ? मन्थन जरुरी छ । यस स्तम्भमा केही मन्थन गरौं ।
इतिहासका विभिन्न कालखण्डमा नयाँ आशावादको जन्म भएको छ । वि.स. १९९० को दशकदेखी सुरु भएको लोकतान्त्रिक आन्दोलन नै नेपाली राजनीतिकको पहिलो आशावाद हो । जसको परिणाम २००७ सालको राणा विरोधी आन्दोलनले नयाँ आशावाद जन्मायो । १०४ वर्षे राणा शासनको चरण शोषण, दमन, अन्याय, र अत्याचारका विरुद्ध नेपाली कांग्रेस र कम्युनिष्टहरूले संर्घष गरे ।
तत्कालिन समयमा वीपी, पुष्पलालहरुको पुस्ताले लोकतन्त्र, गणतन्त्र र संविधानसभाको पक्षमा आवाज उठाएवापत जेलनेलदेखि देश छोड्नुपर्ने अवस्था आयो । तर, तत्कालिन समयका मुख्य नेताहरूमाथिको जेलनेल, निर्वासनको अवस्थामा पनि लोकतान्त्रिक आन्दोलन अवरुद्ध भने भएकाे थिएन। २०४६ सालसम्म आउँदा कृष्णप्रसाद, गणेशमान, मनमोहन जस्ता नेताहरुले निर्णायक आन्दोलन गरे । राज्यसत्ताको सर्वाधिकार जनताको हातमा ल्याउने प्रयास भयो । संविधानअनुसार राजा चल्ने कानून निर्माण भएपछि पहिचानाको विभेदमा पिल्सिएकाहरु केही हद खुशी पनि भए । तर, त्यो खुशीको आयु अत्यन्तै छोटो रह्यो । २०४७ सालको संविधान घोषणा भएको एकाध वर्ष (२०५२) मै प्रचण्ड-बाबुृरामहरुले जनयुद्धको घोषणा गरे । १० वर्षको अवधीमा राज्यले ठूलो जनधनको क्षती व्यहोर्नुपर्यो । अर्कातर्फ त्यस जनयुद्धकै जगमा दोस्रो जनआन्दोलन सम्पन्न भयो । करिब सात दशको ठूलो संघर्षपछि २०६४ सालमा संविधानसभाको चुनाव भयो । यहाँसम्म आइपुग्दा नेपालमा कसैले पनि नसोचेका ऐतिहासिक आन्दोलनहरु सम्पन्न भए ।
अर्को भाषामा भन्दा नेपालमा जनवादी क्रान्ति एकतहसम्म आएर सम्पन्न भयो । पुरानो राज्यसत्ताका केही अवयवहरु बाँकी रहेपनि सतहबाट पुरानो राज्यसत्ता ढल्यो । बिडम्बना, जनवादीक्रान्ति सम्पन्न भएपछि अंगाल्नुपर्ने अर्थराजनीतिक व्यवस्थाको पहिचान गर्न नसकेपछि स्थापित राजनीतिक दलहरुको योग्यता र योग्दानमाथि प्रश्न जन्मिने अवस्था आयो । खासगरी जनयुद्धको राप र तापबाट आएको माओवादीले घमण्ड देखायो । उसलाई जनताले अभूतपूर्व जनमत दिएर संविधानसभा भवन पठाए । तर, माओवादीहरुले धैर्यताका साथ जनतालाई धन्यवाद दिएर राज्यसत्तालाई जनवादी सत्ताका रुपमा विकास गर्नुको साटो घमण्ड पर्दशन गरेपछि नयाँ आशा र अपेक्षाको हत्या भयो ।
इतिहासको एकखण्डमा आन्दोलन सम्पन्न गरेको जसबाहेक उक्त आन्दोलनले मुलुकलाई थप गतिदिन सकेन । बरु, माओवादी नेतृत्व, नेता र कार्यकर्ताहरु अवसरवादी र नातावादी बने । विगतको वर्ग संघर्षलाई भुले । माथि भनिएझैँ सामान्तवादका अवषेशहरुको समुल नष्ट गर्नुको साटो उल्टै राजामहाराजाका शैलीमा जीवन अपनाउन पुगे । कांग्रेस र एमालेलाई बिग्रेका भन्ने माओवादीहरु कांग्रेस—एमालेभन्दा बढि बिग्रिए। जनताको नजरमा टिक्न सेकनन् । २०७० को चुनावमा तेस्रो स्थानमा झरेको माओवादी राजनीतिक, अराजनीतिक, अप्राकृतिक जेसुकै भएपनि गठजोडमा लाग्यो र २०८९ को चुनावसम्म आइपुग्दा जम्मा ३२ सिटमा खुम्चिन पुग्यो ।
यसबीचमा माओवादी केन्द्र र एमाले मिलेर नेकपा (नेकपा) बन्यो । जनताले त्यो नेकपालाई अनुमोदनसमेत गरे । तर, केपी ओली र प्रचण्डको शक्ति संघर्षको ओख्लोमा नुन खुर्सानी पिसिएझैं नेकपा पिसियो । त्यति मात्रै भएन, एमाले पार्टीसमेत बिभाझन भयो । नेकपाका नाममा जन्मेको आशावाद मुस्किलले तीन वर्ष मात्रै टिक्यो ।
सत्य के हो भने, पुराना नेताहरुले आफ्नो जीवनलाई दाउमा राखेर लोकतन्त्र, गणतन्त्र, संघीयता, परिवर्तन ल्याएका हुन् । जनतालाई सूचित र सेचत पार्दै राणा र शाहीतन्त्रकालिन ति कालरात्रीमा नेताहरूले सामान्य संघर्ष गरेका थिएनन् । आजको पुस्ताले त्यो राजनीतिक संघर्षलाई महसुस मात्र पनि गर्न सकेको छैन । आजको व्यवस्था र अवस्था सित्तैमा आएको बक्सीस सम्झेका छन् । यस्तो खाले सतही बुझाई नयाँ पुस्ताको भयंकर कमजोरी हो । यता पुरानो नेतृत्वले सत्तालाई स्थायी लाभको पद सम्झे । आफू बाहेकलाई नजान्ने समझ्यो । नमरुञ्जेल प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने जस्तो निरपक्ष चेतना निर्माण गरे । विचारको उत्पादन र पुनरोत्पादनको कार्यलाई जामगर्ने काम गरे । नेतृत्व हस्तान्तरण, रूपान्तरण र पुस्तान्तरणमा पुरानो नेतृत्व नराम्रोसँग चुक्यो । देशमा भ्रष्टाचार बढ्यो । जनतामा निराशा र असन्तुष्टि पैदा भए । यतिमात्र भएन, समाजवादी संविधानमाथि हमला सुरु भए । चौतर्फि नेतालाई गालि गर्नेहरुको संख्या बढ्यो । नयाँ पुस्ता र पुरानो पुस्ता भन्ने भाष्य सहतमा आयो । पुराना चोर, खत्तम, भ्रष्ट, लोभी, पापी, दलाल, यस्तै..गालिका वर्षा सुरु भए ।
यस्तै स्थितिका बीच नयाँ दलहरु आइपुगेका छन् । उनीहरुको जन्म, हुर्काई र बढाईलाई हेर्दा प्राकृतिक देखिँदैनन् । पुराना दल खराब हामी असल भनेर आएका दर्शन बिनाका दलहरुको हुँकार कम भने छैन । तर, जनतामा नयाँ आशा सञ्चार भएको चाँही सत्य हो । ठूलो संघर्ष र बलिदानबाट आएका प्रचण्डहरुले गतीदिन नसकेको देशलाई हामी चलाउछौं भन्दै आएका रवीहरुप्रति जनताले आशा गरेका छन् । उनीहरुले एक वर्षभित्र हासिल गरेको संसदीय सफलता एतिहासिक छ । तर, उनीहरुले बजारमा जे जस्ता कार्यहरु गरिरहेका छन् । ति कार्य हेर्दा पुरानाभन्दा नयाँ झन् खराब देखिन्छन् । झन् फ्रड देखिन्छन् । झन् स्टन्टबाज र फण्डावाल देखिन्छन् ।
विचार, सिद्धान्त केही नभन्ने तर, काम गर्ने भनेर आएकाहरुले खासै काम गरेको भने देखिएको छैन । प्रचण्ड नेतृत्वको गठबन्धनको सरकारले शून्य सहनशीलताको अभियानलाई तीव्र पारेको बेला विश्वासको मत फिर्ता लिनुलाई काम गरेको भन्न सकिँदैन । मिटर ब्याजिलाई कारबाही गर्ने कानून बनाउन खोज्दा संसद अवरुद्ध गर्न एमालेसँगै उभिनुलाई काम गरेको भन्न सकिँदैन । सार्वजनिक खपतकै लागि अन्टसन्ट बोल्ने, स्टन्ट गर्ने, फण्डा चलाउनुलाई काम गरेको मान्न सकिन्न । बिरोधका नाममा बिरोध गर्ने एमालेको बैशाखी बनेर रवीहरुले गर्ने खोजेको काम के हो ? नागरिकता, पासर्पोट जस्तो प्रकरणमा मुछिएका रवीहरुलाई पुरानाभन्दा नैतिक देख्ने दृष्टिमाथि शंका गर्नुपर्ने हुन्छ । रवीहरुको सत्ता आरोहरण र बारदलीको भोक अनौठो मात्र छैन, अराजनीतिक र अराजक पनि उत्तिकै छ ।
समाजावादी मोर्चा र नयाँ आशावाद
समाजवादी मोर्चा अर्को नयाँ आशावादका रूपमा जन्मिएको छ । जसले जेसुकै भनेपनि राजनीति चलाउने भनेकै राजनीतिक चरित्र भएका मान्छेले नै हो । अरुलाई गालि गरेर पपुलरको भुतले दिगो राजनीति हुँन सक्दैन । हालै बनेको (४ असार २०८० ) समाजवादी मोर्चाले अघि सारेका प्रारम्भिक सन्दर्भहरु एक्दम जायज छन् । नेतृत्व हस्तान्तरण र रुपान्तरणमा जोड दिएर समाजवादी विचारसहितको मोर्चा निर्माण गर्नसके यो युृगकै गर्नुपर्ने काम हुनेछ । पुनः जनतामा नयाँ आशावादको सञ्चार भएको छ । पाकादेखि युवासम्मका नेताहरुको मोर्चा आफैमा अर्थपूर्ण छ । माथि चर्चा गरिएका सबै आशावाद जस्तै यस मोर्चाले जन्माएको आशावाद पनि जीवित रहन्छ या रहन्न ? यसको जवाफ कुर्नैपर्छ।
अन्त्यमा, वर्तमान सरकारबाट जनताले केही आशा गरेका छन् । सरकार र सरकारमा रहेका राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर वतर्मान समयमा देखिएका समस्यालाई हल गर्नुपर्छ । खासगरी किसानलाई समयमै मल, बिउ, दानापानीको व्यवस्था गर्नुपर्छ । स्थानीय उत्पादनको बजारिकरणको जिम्मा राज्यले लिनुपर्छ । त्यस्तै विदेशमा रहेको युवा शक्तिलाई फिर्ता गर्ने तत्कालिक र दिर्घकालिन कार्ययोजना तय गरिनुपर्छ । यि दुई कार्य गर्न जति ढिलो, मुलुक त्यति नै थिलो बन्छ । आफ्ना पराया नभनेर सरकारले भ्रष्टाचारका फाइल खोल्ने र कारबाही गर्ने कार्यलाई तीव्र पार्नुपर्छ । जनताले आफ्नो कर्तव्यलाई इमान्दारीताका साथ पालना गर्नुपर्छ र राष्ट्र निर्माणमा सक्रिय बनाउनुपर्छ । निराशा होइन, आशावादको सिराबाट नयाँ क्षितिजको उजागर गर्नुपर्छ ।
२ साउन २०८० दृष्टि साप्ताहिकमा प्रकाशित