सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली



काठमाडौँ। सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ। लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ। सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन्।

दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन्। तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन्। अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ।

दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७औँ स्थानमा रहेको छ। भारत ८०औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ। श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन्। नेपाल ९८औँ स्थानमा सीमित रहेको छ। नेपालले ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन्। नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ।