काठमाडौँ। नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा ४-२ गोलले हराएको छ। उक्त जितसँगै नेपालले दुई खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ। गत शुक्रबार खेलिएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समय नखेलाई सिधै हारजितको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही, अनिता केसीको प्रहारले विपक्षीको जाली चुमेको थियो। अञ्जना रानामगरको प्रहार भने बारमा लागेर बाहिरिएको थियो। बंगलादेशकी साम्सुनार र मोनिका चक्माले गोल गरेकी थिइन्। तर, मारिया मण्डा र सेइली अजिमको प्रहारलाई भने नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन्।