काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीले विदेश मामिलासम्बन्धी नयाँ कानुन लागु गरेको छ।
अघिल्लो वर्षको डिसेम्बरमा त्यहाँको संसद राष्ट्रिय कंग्रेसमा प्रस्ताव गरी चौधौँ महाधिवेशनको स्थायी समितिको तेस्रो बैठकबाट उक्त कानुन २८ जुनमा पारित भएको हो। चीनले यसलाई १ जुलाईबाट लागू गरेको छ।
६ भागमा रहेको उक्त नीतिलाई चीनले बाह्य मुलुकका लागि खुकुलो बनाउँदै चीनको शक्ति आर्जनमा लक्षित गरेको छ। पूर्वराजदूत टंक कार्की चीनले आफ्नो विदेश नीतिलाई विशेष गरी तीन तहमा बर्गीकरण गरेको बताउँछन्। ‘उसले बनाउने विदेश नीतिमा ‘पहिलो विश्वका शक्ति राष्ट्रहरू लक्षित हुन्छ। दोस्रोमा उसको सिमाना जोडिएका १४ वटा छिमेकी मुलुक र तेस्रोमा अन्य विश्वका सबै देशहरूलाई हुने गरी नीति अख्तियार गरेको हुन्छ,’ उनी भन्छन्।
सामरिक र आर्थिक हिसाबले विश्वको उदीयमान शक्ति राष्ट्र चीन पछिल्लो समय एसिया क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने र पश्चिमा शक्तिको बढ्दो चहलपहललाई रोक्नेमा केन्द्रित छ । हालै सार्वजनिक विदेश मामिलासम्बन्धी कानुनमा पनि उसले आफ्ना छिमेकी लगायत मुलुकका लागि खुकुलो हिसाबमा प्रस्तुत हुने र आफ्नो राष्ट्रिय हितको हकमा कडा ढंगले प्रस्तुत भएको देखिन्छ।
लागू भइसकेको कानुनको दफा ४ मा उल्लेख गरिएको छ, ‘जनवादी गणतन्त्र चीनले शान्तिको स्वतन्त्र विदेश नीतिको पालना गर्दछ। सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि पारस्परिक सम्मान, आपसी गैरआक्रामकता, आन्तरिक मामिलामा आपसी गैरहस्तक्षेप, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको पालना गर्दछ।’
त्यस्तै पश्चिमा समुदायले उठाउने गरेको विकासको पथलाई पनि चीनले नयाँ ढंगले प्रस्तुत गरेको छ। विशेष गरी दक्षिण एसियाली क्षेत्रलाई ‘तेस्रो विश्वका मुलुक’का रूपमा परिभाषित गर्दै हस्तक्षेपकारी तीव्र विकासको विषयमा जोड दिइरहेका हुन्छन्। चीनले भने त्यसलाई हस्तक्षेप भन्दा पनि शान्तिपूर्ण विकासको मार्गबाट अघि बढाउन सघाउने भनेको छ।
‘शान्तिपूर्ण विकासको मार्गमा अडिग रहेको छ। खुलापनको आधारभूत राष्ट्रिय नीतिको पालना गरेको छ । पारस्परिक रूपमा लाभदायक र जीत–जीतको उद्घाटन रणनीति अपनाएको छ,’ विदेशसम्बन्धी कानुनमा भनिएको छ, ‘चीन संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको पालना गर्छ। विश्व शान्ति र सुरक्षा कायम गर्छ, विश्वव्यापी साझा विकासलाई बढावा दिन्छ र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापनालाई बढावा दिन्छ।’
साथै, अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधानको वकालत गर्ने भनेको छ भने अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा त्यसबाट उत्पन्न हुने खतराको विरोध गर्ने दावी गरेको छ। ‘प्रभुत्व र शक्ति राजनीतिको विरोध, आकार, बल र धनको परवाह नगरी सबै देशको समानताको पालना गर्नका साथै सबै देशका जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्ग र सामाजिक प्रणालीलाई सम्मान गर्दछ,’ चीनले भनेको छ।
पूर्व राजदूत तथा परराष्ट्र मामलाका जानकार दिनेश भट्टराई चीनले खुला विश्वलाई स्वागत गर्दै आफूलाई कसरी शक्तिशाली बनाउने भन्नेमा केन्द्रित भएको देखिएकाले राम्रा कुराको स्वागत र नबुझेका विषयमा अध्ययन गरेर चीनसँग कसरी सम्बन्ध कायम राख्ने भनेर नेपालले पनि पोजिसन क्लियर गर्नुपर्ने बताउँछन्।
‘चीन विदेशसम्बन्धी कानुनबाट वैदेशिक व्यापार, लगानीको प्रर्वद्धन र विकास गर्ने कुरा गरेको छ । तर आफूलाई केन्द्रमा राख्ने प्रवृत्ति हुँदाहुँदै एक पक्षीयता र संरक्षणवादको विरोध गर्ने कुरा गरेको छ,’ भट्टराई भन्छन्, ‘यो हाम्रा लागि पनि स्वागतयोग्य कुरा हो । साथै, यसले खुला अन्तर्राष्ट्रिय पद्धतिलाई सहयोग गर्ने कुरा राखेको छ, तर त्यहाँ लागू गर्ने भनेको छैन । यसमा हामीले सोच्नुपर्छ ।’
कानुनको दफा २६ मा चीनले उल्लेख गरेको छ, ‘चीनले बाह्य विश्वका लागि उच्च स्तरको खुलापन, वैदेशिक व्यापारको विकास, विदेशी लगानीलाई सक्रिय रूपमा प्रवद्र्धन र कानुनी रूपमा संरक्षण, विदेशी लगानी र अन्य विदेशी आर्थिक सहयोगलाई प्रोत्साहन, संयुक्त निर्माणको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धनमा जोड दिएको छ । साथै, ‘बेल्ट एण्ड रोड’ र बहुपक्षीय व्यापार प्रणालीलाई कायम राख्ने, एकपक्षीयता र संरक्षणवादको विरोध गर्ने तथा खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गरिनेछ ।’
कानुनमा अरु के छ ?
कानुनमा विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगहरूलाई परराष्ट्र मन्त्रालय मातहतमा राख्ने भनेको भए पनि पार्टीको नियन्त्रणलाई नै सर्वोपरी बनाइएको छ । ‘जनवादी गणतन्त्र चीनको विदेश मामिलाले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीकृत र एकीकृत नेतृत्वलाई पालना गर्छ’, कानुनको दफा ५ मा उल्लेख छ ।
साथै, जनवादी गणतन्त्र चीनले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई), र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) को कार्यान्वयनका लागि चौतर्फी, बहु–स्तर, फराकिलो, र त्रि–आयामिक हिसाकले अघि बढाउने बताएको छ ।
परराष्ट्र विज्ञ भट्टराई बहुपक्षिय, द्विपक्षीय, क्षेत्रीय हुँदै विश्वव्यापी तहसम्म इनिसिएटिभ लागू गर्ने लक्ष्य राखेको बताउँछन् । उनी चीन आफ्नो लक्ष्य हासिलका लागि आक्रामक हुनसक्ने समेत विश्लेषण गर्छन् ।
यस्तै चीनले प्रमुख शक्ति राष्ट्रहरूबीच समन्वय र सकारात्मक अन्तर्क्रियालाई प्रवद्र्धन गर्ने, छिमेकी राष्ट्रहरूसँग मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशीताको अवधारणाअनुसार सम्बन्ध विकास गर्ने र छिमेकीहरूसँग मित्रता र साझेदारीको सिद्धान्तमा आधारित छिमेकी राष्ट्रहरूसँग सम्बन्ध विकास गर्ने उल्लेख गरेको छ ।
‘सद्भाव, इमान्दारिता, धार्मिकता र हितको सही अवधारणालाई समर्थन गर्दै विकासशील देशहरूसँग एकता र सहकार्य गर्दछ । बहुपक्षीयता कायम र अभ्यास; तथा विश्वव्यापी शासन प्रणालीको सुधार र निर्माणमा भाग लिने,’ उक्त कानुनमा भनिएको छ ।
यस्तै विश्वका सबै देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना र विकास गर्नका लागि चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा एक चीन सिद्धान्तलाई स्वीकार गर्नुपर्ने सर्त राखेको छ ।
साथै, जनवादी गणतन्त्र चीनले कानुन बमोजिम चीनमा रहेका विदेशी र विदेशी संस्थाहरूको कानुनी अधिकार र हितको समेत रक्षा गर्ने भनेको छ । विदेशीको प्रवेश, बसोबास र बसोबासलाई अनुमति दिने वा अस्वीकार गर्ने र आफ्नो क्षेत्रभित्र विदेशी संस्थाको गतिविधिलाई कानुन बमोजिम व्यवस्थापन गर्ने अधिकार आफूमा रहेको जनाएको छ ।
‘चीनमा रहेका विदेशी र विदेशी संस्थाहरूले चिनियाँ कानुनको पालना गर्नेछन् । चीनको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने, सार्वजनिक हितलाई हानि गर्ने वा सार्वजनिक व्यवस्थामा बाधा पुर्याउने छैन,’ कानुनमा उल्लेख छ ।
पूर्वराजदूत भट्टराई चीनले आफ्नो विदेशसम्बन्धी कानुनमा राखेका केही कुरा स्वागतयोग्य र केही कुरामा नेपालले गम्भीरतापूर्वक अध्ययन गरेर आफ्नो पोजिसन बनाइराख्नुपर्ने आवश्यकता औँल्याउँछन् । ‘उसले आफ्ना हरेक नियम र कानुनलाई दीर्घकालसम्म हुने गरी बनाएको हुन्छ । विदेशसम्बन्धी कानुन पनि बनाएको छ । त्यसमा कसरी सहकार्य गर्ने भन्नेमा हामीले नै ध्यान दिनुपर्छ’, उनी भन्छन् ।