वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत



रोसेउ। भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा शानदार जीत हासिल गरेको छ। भारतले घरेलु टोलीलाई १ इनिङ्स र १ सय ४१ रनको विशाल अन्तरले हराएको हो।

दोस्रो पालीमा वेस्ट इन्डिज मात्र १ सय ३० रनमा सीमित बन्यो। रवीचन्द्रन आश्विनले ७ विकेट लिएपछि वेस्ट इन्डिजको पाली धराशायी बनेको थियो । त्यस्तै रवीन्द्र जडेजाले २ तथा मोहम्मद सिराजले १ विकेट लिए। वेस्ट इन्डिजका लागि एलिक अथान्जेले सर्वाधिक २८ रन बनाए भने जेसन होल्डर २० रनमा नटआउट रहे । टोलीले पहिलो पालीमा पनि १ सय ५० रन बनाउन सकेको थियो।

प्लेयर अफ द म्याच घोषित युवा खेलाडी यशश्वी जैसवालले डेब्यूमा बनाएको १ सय ७१ रनको मद्दतले भारतले पहिलो पालीमा ४ सय २१ रन बनाएर पाली समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, कप्तान रोहित शर्माले १ सय ३ रन बनाएका थिए भने विराट कोहलीले ७६ रनको योगदान दिए ।