साम्बाको गोलपछि नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो



काठमाडौँ। नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको छ ।

प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी थिइन् ।

बंगलादेशमा बिहीबार पहिलो मैत्रीपूर्ण खेल भएको हो । खेलको ६५औं मिनेटमा सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो। पराजयतर्फ उन्मुख देखिएको नेपाली टोलीलाई अन्तिम समयमा भण्डारीले राहत दिएकी थिइन् ।

उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । भण्डारी लामो समयपछि मैदानमा फर्किएकी हुन्। नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिडेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।