मन्त्री बस्नेतले सार्वजनिक गरे ३२ वटा राम्रा कामको सूचि



काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको नेतृत्व समालेपछि गरेका काम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बस्नेतले आफू मन्त्री भएपछि गरेका ३२ बुँदे क्रियाकलापहरू सार्वजनिक गरेका हुन्।

मन्त्री बस्नेतले गरिब तथा विपन्न नागरिकको उपचारका लागि १० प्रतिशत शैय्या सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट ३ हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको उल्लेख गरेका छन्।

यस्तै, ६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०-२०९०) मन्त्रिपरिषदबाट स्वीकृत र नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८० २०८७/ ८८) मन्त्रिपरिषदबाट स्वीकृत गरिएको उनले बताए।

मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एच.पी. भी.) खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको जानकारी दिए। यस्तै पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको उनले बताए।

नेपालले बालबालिकामा हुने क्यान्सरविरुद्धको उपचारको लागि ३५ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराउन अमेरिकास्थित सेन्ट जुड अस्पताल र नेपालका क्यान्सर विज्ञहरूको कार्यशाला गोष्ठी सम्पन्न गरी धुलिखेल घोषणापत्र जारी गरिएको बताए।