कालिकोटमा एउटै गाउँमा ३ सय जना बिरामी



कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् ।

अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए। बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। “गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ”, उनले भने। नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको महतले बताए।

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए। “शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ”, उनले भने, “उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन्।” सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यले बताए।