काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना भएको टिप्पणी गरेका छन्।
शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महासचिव भुसालले प्रधानमन्त्रीको अनौपचारिक भनाइलाई लिएर प्रधानमन्त्री पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र रहेको बताएका छन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल पनि नभएको र प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको बताए।
उनले भने– ‘हामीले प्रधानमन्त्रीको अभिव्यक्ति बारेमा धेरै छलफल गरेर निष्कर्षमा पुग्ने काम त गरेका छैनौँ । तर यो सबै हेर्दा मलाई के लाग्छ भने प्रधानमन्त्रीको भाषा अलि अनौपचारिक छ।
म प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक, एकदमै राजनीतिक एकदमै सोची बिचारेर हरेक शब्द त्यसरी बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु। उहाँले यस्तो अनौपचारिक बचनबाट पछाडि राख्नुपर्छ।’
भुसालले आगामी दिनमा प्रधानमन्त्रीले यस्ता कुराहरूमा ध्यान दिनुपर्ने बताए। गत असार १८ गते प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएपछि विवादमा तानिएका थिए । सोही भनाइलाई आधार बनाएर संसद् अवरोध गर्नु एमालेको बच्पना र केपी ओली सत्ताबाट झर्नुपरेको छटपटी रहेको भुसालको टिप्पणी छ ।
उनले भने– ‘जहाँसम्म संसद् अवरोधको कुरा छ त्यो एकदमै बच्पना कुरा हो । किनभने उहाँहरूले जुन खालको आरोप लगाउन खोज्नुभएको छ, प्रधानमन्त्रीले बोलेको कुराले त्यो आरोप पुष्टि हुँदैन ।
यो बढी आग्रहयुक्त छ । खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनुभएको छ जुन अनुचित छ ।
उनले प्रधानमन्त्रीले बोल्दाखेरी एकदमै औपचारिक भाषा बोल्नुपर्ने उल्लेख गरे । उनले नेकपा एकीकृत समाजवादी पार्टीमा यसबारे कुनै छलफल नभएको र पार्टीको कुनै धारणा नरहेको बताए। कसैले प्रधानमन्त्रीलाई सुझाव दिन्छ भने त्यसलाई लिनुपर्ने तर कसैले प्रधानमन्त्रीकै हैसियत सकाइदिन्छु भन्छ भने त्यो मृगतृष्णाको विषय मात्र हुने उनको भनाई छ ।