यूएईले नेपाललाई दियाे एक सय ८२ रनको लक्ष्य



काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा संयुक्त अबर इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रनमात्र बनाउन सक्यो ।

यूएईलाई ठूलो योगफल तयार पार्नबाट रोक्न नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले पनि तीन विकेट हात पारे । प्रतिस जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक—एक विकेट लिए ।

सन्दीपले १० ओभर बलिङ गर्दै तीन मेडनसहित केवल २३ रन खर्चिएका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतिसले १० ओभरमा ३९, गुल्सनले ६ ओभरमा ३२ र दीपेन्द्रले पाँच ओभरमा एक मेडनसहित १४ रन खर्चिएका थिए ।

नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेको थिएन ।

सन्दीपले यूएईको दोस्रो विकेट लिएका थिए । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराए । आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।

स्पिरन सन्दीपले नै यूएईको तेस्रो विकेट लिएका थिए । उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान रमिज सहजादलाई १० रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । रमिज आउट हुँदा यूएईले ८५ रन बनाएको थियो ।

यूएईको चौथो विकेट गुल्सन झाले लिएका थिए । उनले यूएईका कप्तान वृत्य अरविन्दको विकेट लिएका हुन् । गुल्सनले अरविन्दलाई ४४ रनमा बोल्ड गरेका थिए । ७५ बलमा चार चौका प्रहार गरेका अरविन्द आउट हुँदा यूएईले ९७ रन बनाएको थियो ।

करणले यूएईको पाँचौं विकेटका रुपमा रोहन मुस्तफालाई आउट गराएका थिए । ३५ रन बनाएका रोहनलाई करणले अर्जुन साउदमार्फत क्याच गराएका हुन् । रोहनले ५६ बलको सामना गरी तीन चौका हिर्काएका थिए । रोहन आउट हुँदा यूएईले एक सय ५५ रन बनाएको थियो ।

यूएईको छैटौं विकेटका रुपमा बासिल हमिद पेभेलियन फर्किएका थिए । उनको विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले बासिललाई २९ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । बासिल आउट हुँदा यूएईले एक सय ५९ रन बनाएको थियो ।

यूएईका अली नासिर सातौं विकेटका रुपमा पेभेलियन फर्किएका थिए । चार रन बनाएका नासिर रनआउट भएका थिए । उनलाई कप्तान रोहित पौडेलले रनआउट गरेका हुन् । सातौं विकेट गुमाउँदासम्म यूएईले एक सय ६२ रन बनाएको छ ।

यूएईको आठौं विकेटका रुपमा सन्चित शर्मा आउट भएका थिए । उनको विकेट स्पिनर सन्दीपले लिएका थिए । सन्दीपले सन्चितलाई १२ रनको ब्यक्तिगत स्कोरमा अर्जुन साउदमार्फत क्याच गराए । सन्चित आउट हुँदा यूएईले एक सय ७७ रन बनाएको थियो ।

नवौं विकेटका रुपमा यूएईका जुनैद सिद्धकी पेभेलियन फर्किएका थिए । खातासम्म खोल्न नसकेका जुनैदलाई नेपाली बलर प्रतिस जीसीले बोल्ड गरेका थिए । जुनैद आउट हुँदा यूएईले एक सय ७८ रन बनाएको थियो ।

अन्तिम विकेटका रुपमा यूएईका मुहम्मद जवादुल्लाह पेभेलियन फर्किएका थिए । उनी एक रनको ब्यक्तिगत स्कोरमा करण केसीको बलमा बोल्ड भएका थिए । यूएईले नेपाली बलरबाट अतिरिक्त रुपमा १३ रन पाएको थियो ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । यो खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछ ।

यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्दको खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १० औं वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।

नेपाल र यूएईबीच खेलिएका पछिल्ला पाँचमध्ये चार खेलमा नेपाल विजयी भएको छ । एउटा खेलमा भने यूएई विजयी भएको छ । पछिल्लो पटक गत मेमा घरेलु मैदानमा खेलिएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

त्यसअघि गत मार्च १६ तारिखमा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग टुको खेलमा नेपालले यूएईलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो ।

यसैगरी लिग टु प्रतियोगिताकै मार्च १२ तारिखमा खेलिएको खेलमा घरेलु टोली नेपालले यूएईलाई एक सय ७७ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो । त्यसअघि लिग टु प्रतियोगिताको मार्च ६ तारिखमा दुबईमा खेलिएको खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो । सोही प्रतियोगिताको मार्च २ तारिखमा दुबईमै खेलिएको खेलमा भने यूएईले नेपाललाई ६८ रनले हराएको थियो ।