काठमाडौँ। नेकपा ‘एमाले’ का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिस्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमार्क्सवादी दृष्टिकोणको संज्ञा दिए। ‘गल्ती नगर्ने र गल्ती नसच्याउने मान्छे’ मान्छे नै नहुने उनको भनाई छ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुष्पलालको दृष्टिकोणले ६५ प्रतिशत जनमत कम्युनिस्टहरूको पक्षमा रहेको बताएका हुन्।
गणतन्त्र आउनु, राजा हट्नु, संविधान बन्नु पुष्पलालकै योगदानको उपलब्धि भएको बताए । अहिलेको व्यवस्था माओवादीले बन्दुक पड्काएर मात्रै नआएको उनको भनाई छ । कम्युनिस्ट आन्दोलनले नेपालको राजनीतिमा धेरै परिवर्तन ल्याए पनि गर्न धेरै बाँकी रहेको उनको भनाई छ । ‘हिजो राजाको शासन थियो, आज जनताको शासन छ । जनताले ल्याएको व्यवस्था हो यो, के माओवादीले बन्दुक पड्काउँदैमा आएको हो र रु लाखौँलाख जनता संलग्न भए । माओवादीको युद्धमा पनि हजारौँ संलग्न भए, संयुक्त जनआन्दोलनमा पनि लाखौँलाख संलग्न भए । जनताले लडेर ल्याएको, हजारौँ हजार जनताको बलिदानले ल्याएको उपलब्धि हो । तर, गर्न अझै धेरै बाँकी छ,’– उनले भने ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिस्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिस्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्याउन नसक्नेले विकल्प दिनुपर्नेमा जोड दिए । माओवादी जनयुद्धले विश्वको कम्युनिस्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रूपमा रहेको उनको भनाई छ । पुष्पलालले आफ्नो जीवनकालमा जे जति सकेको वैचारिक विकास गरेको भन्दै उनले प्रशंसा गरे । पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी छ ।
पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाई छ । गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाइनले आएको उनको दाबी छ । गजुरेलले अब पुष्पलालको लाइनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए । पुष्पलाल अध्ययन समाजका सचिव नीलकण्ठ तिवारीले पुष्पलालको जन्म शताब्दीमा उनेकोबारे जनतालाई जानकारी गराउनका लागि आफूहरू लागिपरेको बताए । अहिले वाम जनमत निराशामा रहेको र वाम आन्दोलनलाई एकीकृत गर्नसमेत उनले सबैसमक्ष आग्रह गरे ।
नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पलालको स्मृतिमा बन्न लागेको भौतिक संरचना पूरा गर्नका लागि उनले सबैसमक्ष आग्रह गरे । कम्युनिस्ट आन्दोलन ७५ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसबीचमा आन्दोलनले धेरै आरोह अवरोह बेहोरेको बताए । देशको वस्तुस्थिति र परिवेशको सन्दर्भमा विगतका नीतिहरूको समीक्षा हुन आवश्यक रहेको उनले बताए ।
‘जेरजति कार्यक्रम राख्नुभएको छ, ठिकै छन् । तर, यसको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो ७५ वर्षको समीक्षालाई प्राथमिकता दिनुपर्छ । किनभने यो ७५ वर्ष पुष्पलालसँग जोडिएका विषय हुन । अहिलेको यो भद्रगोल भएको कुरालाई बिर्सिएर खाली हामीले राम्रा–राम्रा कुराहरूको मात्रै लेखाजोखा गर्ने कुरा मात्रै गर्यौँ भने हामी आन्दोलनप्रति गम्भीर नभएको ठहर्छ,’– उनले भने ।
नेपाल कम्युनिस्ट पार्टी मसालका नेता रामप्रकाश पुरीले अहिले कम्युनिष्टहरुको आदर्श र आस्था गम्भीर संकटमा रहेको बताए। आफूहरूलाई मूल समारोहमा राखिएकोप्रति प्रतिबद्धता जाहेर गरेको बताए। नेपालमा जसले घण्टी बजाए पनि नेपालमा कम्युनिस्ट आन्दोलन रहिरहने उनको दाबी छ। पुष्पलालले यो संसार रहेसम्म कम्युनिस्ट आन्दोलन रहने अनुमान गरेर आन्दोलन अगाडि बढाएको उनको दाबी छ। पुष्पलालका सपनाहरू कहिल्यै पनि नमर्ने उनको दाबी छ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता शरद रसाईली पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको अतुलनीय व्यक्तित्व भएको बताए। पुष्पलालको आदर्शलाई थप स्थापित गराउनका लागि सबै कम्युनिस्टहरू एक हुन आवश्यक रहेको उनको भनाई थियो।