काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारविनाका पार्टीहरुको लहर चलेको बताएका छन्।
बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन् ।
‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। तर, अहिले एउटा लहर चलेको छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘विचार नचाहिने, बिनाविचार, विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’
उनले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको पनि बताए । ओलीले भने, ‘योगदान बिर्सिए हुन्छ, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् । तर विनाइतिहास समाज यहाँ आएको छैन ।’
उनले धेरै उत्तारचढावबाट समाज यहाँसम्म आइपुगेको बताउँदै भने, ‘आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सी बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जान आवश्यक छ।’