शुसिलाको ‘दुलार’ नामक उपन्यास सार्वजनिक



काठमाडौँ। इन्फिनिटी पब्लिशर्स मुम्बई भारतद्वारा प्रकाशित उपन्यास ‘दुलार’ विमोचन गरिएको छ।

बिहिबार युवा लेखक सुशिला नाथ योगीद्वारा रचना गरिएको उपन्यास ‘दुलार’ लेखक तथा पत्रकार अनिल योगी, निर्मल थापा, डा.सिता ढुङ्गाना, विनय भुषण दत्तलगायतले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

संघीय राजधानी काठमाडौँको कमल पोखरीको एक होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पत्रकार/लेखक अनिल योगीले युवाहरू रचनात्मक कार्यमा लाग्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘यस उपन्यासकी लेखिका समान उमेरका अन्य युवाहरू पनि यस्तै रचनात्मक कार्यमा जुटिरहेको देख्न चाहान्छु। तर, नयाँ पुस्ता अत्यन्तै भद्रगोल छ। लागू औषधमा लिप्त छ। सत्य के हो ? तत्थ्य के हो ? त्यसको पुष्टि नगरी हावाका भरमा हिड्ने गरेका छन्। यो देशमा युवाहरुलाई सम्बोधन गर्ने शासक पनि नभएको कै हो। एक जना नागरिकलाई दुःख पर्दा सारा राज्य शक्ति त्यसको साहारा बन्नुपर्छ। म विगत लामो समयदेखि यस्तो जनतामुखि शासन सत्ताको पक्षका बोल्दै र लेख्दै आएको छु।’

लेखक योगीले अगाडि भने, ‘मैले मेरो जीवनकालमा आफ्नो परिवारको लागि सन्तानको लागि, आफन्तको लागि धेरै गर्न सक्थे होला। तर, गरिन। किन त भन्दा म देशका सारा नागरिकले समान अधिकार र अवसरको जीवन बाँच्न पाउनुपर्छ भन्नेमा उभिए। देश र जनतालाई पहिलो प्राथमिकतामा राखेँ। यस मानेमा मेरो आफन्त मबाट असन्तुष्ट पनि छन्। यसमा म क्षमासमेत माग्न चाहान्छु।’

त्यस्तै अर्का लेखक निर्मल थापाले साहित्यको विकास वृद्धिका लागि दुलार उपन्यासले थप योगदान दिन सकोस् भन्दै शुभकामना दिएका छन्। उनले भने, ‘म अनिल सरलाई निक्कै पहिलेदेखि चिन्छु। पछिल्ला धेरै वर्ष हामी भेटिएका थिएनौं। तर, दुलारले हामीलाई एक पटक पुनः नजिक बनायो। खुशी लाग्यो।’

त्यस्तै डा.सिता ढुङ्गानाले नेपाली दलाल पूँजिवाद र पाश्चात्य परम्पराका कारण नेपाली महिलाहरुले अनेकन बाधा अवरोध सामना गरिरहेको बताउदै ‘दुलार’ की लेखिका योगीको साहासलाई सम्मान गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले भनिन्, ‘नेपाली साहित्यमा कलम चलाउने मान्छे कम छन्। किताब पढ्ने मान्छे कम छन्। महिला लेखक कम छन्। त्यसैमा पनि उपन्यास जस्तो विधामा कमल चलाउने नारी श्रष्टा निक्कै कम छन्। यति राम्रो र प्रशंसनीय कार्यका लागि लेखिका बहिनीलाई बधाई दिन चाहान्छु। शुभकामना दिन चाहान्छु।’

कार्यक्रममा रुपक अधिकारीले पुस्तकमाथि टिप्पणी मन्तव्य राखेका थिए। विनय भुषण दत्त, धनराज वास्तविकलगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए।