नेपालले पाकिस्तानलाई १५ वर्ष पराजित गर्यो



बैंगलुरु। साफ च्याम्पियनसिप २०२३ को आफ्नो अन्तिम खेलमा पाकिस्तान विरुद्ध नेपाललाई १-० को जित दिलाउन आशिष चौधरीले निर्णायक गोल गरे।

बैंगलुरुस्थित कान्तिराव स्टेडियममा भएको खेलमा विजयी गोल गरेपछि २२ वर्षीय आशिषले नेपालका लागि गोल गर्ने सपना पूरा भएको बताए । बेन्चबाट खेल सुरु गरेका आशिष दोस्रो हाफको सुरुमै आभाष लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले ८०औं मिनेटमा लकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएर र त्यही गोलमा नेपाले जारी साफमा पहिलो जित निकालेको हो ।

सुरुवाती दुई खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित हुँदै साफबाट बाहिरिसकेको नेपालले सान्त्वना जितसहित प्रतियोगिता सकायो ।

नेपालले पाकिस्तानलाई साफमा १५ वर्षपछि हराउँदा नायक उनै आशिष रहे । मोरङको हरैँचाका आशिषले गत वर्ष काठमाडौंमा भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गरेका थिए ।

पहिलो पटक साफ च्याम्पियनसिप खेलेका उनले पाकिस्तान विरुद्ध आफ्नो डेब्यु गोल गरेका हुन् । नेपाललाई जिताएपछि स्वभाविक रुपमा उनी खुशी थिए । आफ्नो परिवारको सहयोग र आफूले गरेको मिहिनेत पूरा भएकोमा आशिष दंग पनि थिए ।

‘नेपालको लागि गोल गर्ने सपना थियो । त्यो सपना पूरा भएको छ’, आशिषले भने, ‘यतिबेला म मेरो परिवारलाई मलाई सहयोग गर्ने दाइहरूलाई सम्झन चाहन्छु ।’

आशिषले देशका लागि अझै धेरै गर्न बाँकी रहेको पनि बताए। ‘एउटा सपना त पूरा भएको छ तर म यतिमै खुशी हुनुहुँदैन। अझै धेरै गर्न बाँकी छ । देशको लागि अझै खेल्न बाँकी छ,’ साफअघि काठमाडौंमा सकिएको शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचालेका आशिषले भने।

चर्च ब्वाइजलाई पहिलो सिजनकै ए डिभिजन लिगको उपाधि जिताउँदा आशिषले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसअघि गतवर्ष चर्च ब्वाइजले बी डिभिजन लिगको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका उनी लिगको बेस्ट प्लेअर घोषित भएका थिए।

पछिल्लो समय नेपालका फुटबल खेलाडीहरु विदेशिने क्रमम जारी छ । यस्तो बेला राष्ट्रिय टिममा रहेका आशिषले नेपालको लागि अझै खेल्ने र विदेश जाने बारे केही नसोचेको बताए।

‘म विदेश नै जानु थियो भने किन खेल्थेँ र ? बल्ल मिहिनेतको फल पाउँदै छु। अझै धेरै गर्न बाँकी नै छ ।’ यसअघि उनलाई परिवारले नै विदेश जान कर गरेका थिए तर उनले मानेका थिएनन्। साफअघि फिलिपिन्ससँत्र मैत्रीपूर्ण खेल खेल्न उनी नेपाली टिमसँग पहिलो पटक विदेश गएका थिए ।

अब भने उनलाई परिवारले नै विदेश जानुपर्दैन भन्न थालेका छन् । पहिलो पटक साफ च्याम्पियनसिप खेलेका आशिषले कुवेत र पाकिस्तानविरुद्धको खेलमा मात्र अवसर पाए ।

कुवेत विरुद्ध ७३औं मिनेटमा मैदान प्रवेश गर्दै १७ मिनेट खेलेका उनले भारत विरुद्ध दोस्रो खेलमा अवसर पाएनन् । तेस्रो खेलमा उनले दोस्रो हाफ पूरै खेल्दै एक गोल गरे ।

साफमा उनले समग्रमा ६२ मिनेट खेलेर एक गोल गरे । यस साफमा नेपालले जम्मा दुई गोल गर्दा अर्को गोल अन्जन विष्टले कुवेत विरुद्ध गरेका थिए ।

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आशिषको प्रशंसा गर्दै उनी राम्रो सम्भावना भएको खेलाडी भएको बताए । ‘आशिष युवा छन् । उनको भविषय धेरे राम्रो छ । अझै उनले साफका केही संस्करणहरु खेल्न सक्छन् । आशिष र सबै टिमको लागि खुशी छु ।’

प्रशिक्षक एनेसले टिमको रणनीति परिवर्तन गर्दै आशिष र नवयुग श्रेष्ठलाई एकसाथ मैदान प्रवेश गराउँदै दोस्रो हाफको सुरुमा ४-४-२ को फर्मेनसमा खेलाएको र पछि फेरि ४-३-३ को फर्मेसनमा खेलाएको बताए । जहाँ आशिषले आफूलाई प्रमाणित गरे ।