समाजवादी प्रेस संगठनको चुनावी सन्देश



जुन पार्टी र संगठनको आन्तरिक लोकतन्त्र कमजोर हुन्छ, त्यो पार्टी/संगठन अधिनायकवादी र अराजक बन्छ। लोकतन्त्र बिना समाजको रुपान्तरण सम्भव हुँदैन। लोकतन्त्रको लागि स्वच्छ, स्वस्थ र निश्पक्ष चुनाव अनिवार्य सर्त हो। लोकतन्त्रको सुन्दरता भनेकै आन्तर पार्टी/संगठनको चुनाव र आम निर्वाचन हो। हाम्रोमा लोकतन्त्रबारे कमजोर र सतहि बुझाई छन्। लोकतन्त्रको अन्तीम परिभाषा हुँदैन। किन कि लोकतन्त्र अनवरत दर्शन हो। विचार हो। यसलाई विश्वका मानिसहरूले आफू अनुकुलका परिभाषा दिदै आएका छन्।

खासगरी नेपाली समाजमा लोकतान्त्रिक पार्टी/संगठनमा चुनाव हुँदा लोकतान्त्रिक अभ्यास भन्ने गरिन्छ। जो सतहमा सुन्दै आएको स्थापित भाष्यसमेत हो। तर, यसको ठिक उल्टो कम्युनिष्ट पार्टी/संगठनहरूमा चुनाव हुँदा यो गुट, त्यो गुट, गुटबीचको लडाई भन्ने गरिन्छ। जुन खारेज योग्य भाष्य हो। केही पात्र, प्रवृत्ति र घटनासँग विचार, सिद्धान्त र आन्दोलनको गरिमालाई तुलना गरिनु हुँदैन। कम्युनिष्ट विचार बोक्ने मान्छे जत्तिको लोकतन्त्रवादी अर्को कोही मान्छे हुन सक्दैन। किन कि कम्युनिष्ट विचार बोक्ने मान्छेहरू समाजवादी चेतनासहितका मान्छे हुन्। उनीहरूले मान्छेले मान्छेमाथि हुने सबैखाले अन्याय, अत्याचार, असमानता, अराजकाता र अपराधलाई निस्तेज गर्न आह्वान गरिरहेका हुन्छन्।

हालै नेकपा (एकीकृत समाजवादी) पार्टी निकटका पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। काठमाडौँमा सम्पन्न चुनावमा अघिकांश पदाधिकारी पदमा निर्वाचन भएको छ। देशका विभिन्न जिल्लाबाट संगठनको प्रथम राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले जेठ २६ र २७ गते दुई दिन लगाएर नयाँ नेतृत्व चयन गरेका छन्। पत्रकार विश्वमणी सुवेदीको नेतृत्वको नयाँ टिम बनेको छ। यस महाधिवेशनको साक्षि हुनुको नाताले पनि केही सवालहरू उपर लेख्न मन लागेको हो।

नेतृत्व चयनमा पार्टी नेतृत्वले हस्तक्षेप गर्न नचाहेको पनि थिएन। बन्दै गरेको संगठनको चुनाव गर्दा मनमुटाव र दारार पैदा हुन सक्ने अनुमानलाई आधार बनाएर प्ररोक्ष/प्रत्यक्ष रुपमा चुनाव हुँन हुँदैन भन्ने पार्टीका नेताहरूको भनाई थियो। तर, प्रतिनिधिहरू कर्णाली, सुदूरपश्चिम, सुदूरपूर्व र हिमालापारीबाट काठमाडौँमा ‘भात खान’ आएका होइनौं भनिरहेका थिए। फ्लोरले नै चुनावको वातावरण सिर्जना गरेपछि केही नेताको खल्तिबाट पढिने नामहरू कुनामा थन्किएपछि माहोल चुनावतर्फ केन्द्रिकृत बनेको थियो।

संगठनलाई गतिशील, प्रगतिशील र उर्जाशील बनाउनका निम्ति यस्ता निर्वाचनहरू अनिवार्य छन्। कम्युनिष्ट पार्टीभित्रको आन्तरिक लोकतन्त्र मृतप्राय बनेको स्थिति छ। जनवादी केन्द्रीयताको नाममा टिका लगाउने अवस्थाले संगठनमा ठूलो क्षयिकरण भइरहेको छ। पार्टी होस् कि संगठन सबैतिर जनआर्कषण घट्दो छ। यसरी जनआकर्षण घट्नुमा आन्तरिक लोकतन्त्र कमजोर हुनु नै हो। नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रभावकारी ढंगले अघि बढाउनका निम्ति लाईन एजेन्सीका रूपमा रहेका भ्रातृ संगठनहरूको नेतृत्व चयन मतदानबाटै हुनुपर्छ। एउटै संगठनभित्रका सदस्यहरूबीच भएको चुनावले संगठनको जीवनमा कस्तो असर पार्छ ? त्यो ठूलो कुरा हो। संगठनलाई विचार, सिद्धान्त, विधि र नीतिमैत्री बनाउन सकिन्छ कि सकिन्न ? त्यसको ठोस् विश्लेषण आवश्यक हुन्छ।

नवनिर्वाचित टिमका सामू अत्यन्तै धेरै सम्भावना छन्। जिल्ला सम्मेलन, प्रदेश सम्मेलन, भेला, प्रशिक्षण, विधान सम्मेलन, पत्रकार महासंघको आसन्न निर्वाचनको तयारीलगायतका महत्वपूर्ण कार्यसँगै ‘जिम्मेवार पत्रकारः समाजवादको आधार’ भन्ने नारालाई साकार पार्ने वैचारिक तथा सांगठनिक जिम्मेवारी र दायित्व छ। यति मात्रै होईन, मित्र संगठन र प्रतिष्पर्धी संगठनहरूसँग वैचारिक अन्तरविरोधको लडाई लड्नुपर्ने मुख्य चुनौती छ। श्रमजीवि पत्रकारहरूका हकहितका पक्षमा न्यायिक काम गर्नु पर्नेछ। पत्रकारिता राज्यको चौथो अगं होईन, अभिन्न अंग हो। राज्यका राम्रा कुराको समर्थन र नराम्रा कुराहरूमाथि खबरदारी गर्नुछ। नयाँ नेतृत्वले संगठनको केन्द्रीय कार्यालयको व्यवस्थापनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धामा आफूलाई अब्बल सावित गर्नुपर्नेछ। सम्पन्न महाधिवेशनले दिएको प्रमुख सन्देश पनि यहि हो। समाजवादी विचार बोकेको पार्टी र संगठनभित्र लोकतान्त्रिक मूल्य मान्यता र आचरणसहित सौहार्दपूर्ण वातावरणमा चुनाव हुनुलाई गुट/फुटसँग तुलना गरिनु हुँदैन। जीवन्त संगठनभित्र पक्ष र विपक्ष हुन्छ। यसलाई अन्यथा लिनु हुँदैन। चुनावले जिताउने मात्रै होईन, सिकाउने पनि गर्छ। यहि पाठलाई अनुसरण गर्दै संगठनका निवर्मान अध्यक्ष शम्भु श्रेष्ठले सुनाउने गरेको ‘फिस्टे चरी’ को कथालाई स्मरण गर्दै नयाँ नेतृत्वले विलम्ब नगरिकन संगठन विस्तारमा जुट्न सक्नुपर्छ।

अन्त्यमा, चुनावताका मतभिन्नतालाई भुलेर अघि बढ्नुपर्छ। सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका अन्य संगठन र पार्टीको नेतृत्व चयनलाई पनि टिका होईन, मतदानबाट चयन गर्नुपर्छ भन्ने अर्को महत्वपूर्ण सन्देश दिएको छ। जीवन्त पार्टी र संगठनभित्रको चुनावलाई गुटको नाममा मौलाउन सक्ने अराजकतालाई ध्यानदिदै समाजवादी प्रेस संगठनले राज्यको अभिन्न अंग बन्नसक्नुपर्छ। समाज विकासक्रमलाई समाजवादी विचारधारासँग जोडेर लेख्नु र बोल्नु समाजवादी पत्रकारहरूको धर्म हो। वर्गीय प्रेमका गीतहरू सुन्दै, गाउँदै, रमाउँदै, लेख्दै समाजवादी पत्रकारहरूले समाजवादको यात्रालाई तीव्रता दिनुपर्छ। अरूले के भने ? कसो गरे ? त्योसँग मतलव नगरी हामीले के गर्ने ? त्यसको स्पष्ट कार्य योजना तयगर्ने र त्यसको लागूगर्ने काममा समाजवादी पत्रकारहरू एकजुट हुनुपर्छ। संगठनभित्रको आन्तरिक लोकतन्त्रलाई फस्टाउन दिने, पारदर्शीतालाई कायम राख्ने, मितव्ययीता, जवाफदेहीता, जिम्मेवारीता जस्ता महत्वपूर्ण कुराहरूप्रति इमान्दार रहने पत्रकारले मात्रै समाजवादको यात्रामा योगदान दिन सक्छ। ‘जिम्मेवार पत्रकार:समाजवादको आधार’ भन्ने मुल नाराको सार भेटिन सक्छ।अन्यथा हाम्रो विचार र व्यवहारबीचको तादात्म्यता भेटिँदैन। यस्तो अवस्थामा हामी समाजवाद स्थापनाका असली सिपाई होइन, गफाडी बन्नपुग्छौं।