मानव सभ्यताको विकासक्रममा नेपालका विभिन्न रैथाने जाती र समुदायहरूले विभिन्न किसिमका सीप, कलारकौशलको विकास तथा मानव संस्कृतिको निर्माणगरी आजको आधुनिक युगसम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। तर, आधुनिकता सँगसँगै भूमण्डलीकरणका कारण यस्ता आनुबांशिक ज्ञान तथा रैथाने सीप, कला र कौशल र संस्कृति ओझेलमा पर्दै गएका छन्।
नेपालमा विगत लामो समयदेखि जसले शिक्षा पायो उसले श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति बसाउन सकेन भने श्रम गर्नेहरुलाई संरचनात्मक ढंगले शिक्षाबाट बञ्चित गरियो। न त उनीहरूको आनुवांशिक सीप, ज्ञान, पेसा र संस्कृतिलाई बढावा नै दिइयो। बरु उनीहरूलाई निम्न वर्गीय सेवकका रूपमा व्यवहार गर्ने गरिएको थियो। परिणामस्वरुप आजसम्म न त रैथाने सीप र प्रविधीको संस्थागत विकास हुन सक्यो न त रैथाने सीपका धनी समुदायको आर्थिक र सामाजिक उन्नति नै। न त मुलुकमा स्थापित विश्वविद्यालयहरुले यसलाई अध्ययनको विषयवस्तु बनाउन नै सकेको देखियो। यी रैथाने कला र कलाकृतिहरू मानिसहरूको जीवनरेखा मात्र नभई ऐतिहासिक रूपमा सभ्यताका स्तम्भ र राज्य अर्थव्यवस्थाको मेरुदण्ड भएतापनि समाजको आधुनिकीकरणसँगै यस्ता सम्पदाहरू ओझेलमा पर्दै गए। फलस्वरुप समृद्ध र आत्मनिर्भर बन्ने अवसर मुलुकले गुमाइरह्यो। सभ्यता विकास र नागरिक अधिकारको प्रवद्र्धनका क्रममा विभिन्न मुलुकहरुले यस्ता मौलिक ज्ञान, सीप, संस्कृति र सम्पदाको जगेर्ना गर्ने गरेका छन्। अमेरिकामा सन् १९६४ को नागरिक अधिकार ऐन आउनुअघि सन १८६८ तिरदेखि अश्वेत र रैथाने समुदायको शिक्षाका लागि राज्यस्तरबाटै Black Colleges and Universities (BCUs) र Tribal Colleges and Universities (TCUs) स्थापना हुन थालेका थिए। अहिले पनि अमेरिकी शिक्षा विभागले १०७ वटा कलेज र विश्वविद्यालयलाई Historically BCUs को रूपमा र ३२ वटालाई TCUs को रुपमा पहिचान गरेको छ। त्यस्तै, युरोपेली मुलुकहरूमा पनि यस्तै अभ्यासहरू पाइन्छन्। भारतमा पनि धेरै रैथाने कलेजहरू छन् भने इन्दिरा गान्धी नेशनल ट्राइवल युनिभरसिटी नामको एक विशिष्ट विश्वविद्यालय सन् २००७ मा स्थापना भएको छजसलाई विश्वविद्यालय अनुदान आयोग मार्फत केन्द्र सरकारले पूर्ण रूपमा खर्च व्यहोर्ने गर्छ। बङ्गलादेशमा सांस्कृतिक मामिला मन्त्रालय अन्तर्गत बङ्गलादेश शिल्पकला एकेडेमी सन् १९७४ देखि नै सक्रिय छ जसको संजाल सबै जिल्ला र उप-जिल्लाहरूमा फैलिएको छ।
नेपाल स्वदेशी ज्ञान, सीप, संस्कृति र समग्र सम्पदामा धनी भए तापनि यसमा केन्द्रित रहेर यस्ता प्राज्ञिक संस्थाहरू स्थापना हुन सकेनन्। नेपालको आधारभूत र उच्च शिक्षा आयातित ज्ञानबाट सुरु भएको पाइन्छ। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले राणा बालवालिकालाई अङ्ग्रेजी पढाउने उद्देश्यले औपचारिक रूपमा प्राथमिक शिक्षाको सुरुवात गरेका थिएभने सन् १९१९ मा स्थापना भएको पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र कलेजमा पनि कलकत्ता र पटना विश्वविद्यालयका पाठ्यक्रमहरू निर्धारण गरिएका थिए। त्रिभुवन विश्वविध्यालयको स्थापना पश्चात पनि आधुनिक शिक्षाका नाममा पश्चिमी शिक्षाको बर्चश्व बढ्दै गयो र त्यो क्रम अहिलेसम्म जारी छ।
नेपाली वृहत् शब्दकोशले ‘रैथाने’ शब्दलाई कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा भनेर अर्थ्याएको छ। यसलाई अंग्रजीमा Native शब्दको प्रयोग गरिएको छ। यो शब्दले कुनै निश्चित भूगोलमा आदिम कालमा विकास भएका मानव समूह, पशुपंक्षी तथा वनस्पति र सभ्यता विकासका क्रममा सृजना भएका सीप, कला, संस्कृति, ज्ञान तथा प्रणालीलाई जनाउँछ।तसर्थरैथाने भन्नाले शताब्दीऔंदेखि नेपालका विभिन्न क्षेत्रमा बसोबास गरिआएका विभिन्न जाति, समुदाय र उनीहरुसित अन्तरनिहित मौलिक ज्ञान, सिप, कला, संस्कृति, भाषा, सभ्यता इत्यादि समेतको एकमुष्ठ सम्बोधन हो। तसर्थ यसलाई रैथाने विज्ञान (Native Science) पनि भन्ने गरिन्छ। रैथाने उत्पादनहरु अहिले विश्वमा उच्च मूल्य (High Value Production) का रुपमा रहेका छन्। त्यति मात्र हैन यी विषय मुलुकका पहिचान र सम्मानका आधार बनेका छन् । रैथाने शिक्षा भन्नाले रैथाने ज्ञान, सीप, कला र संस्कृतिमा आधारित ज्ञान निर्माण गर्ने शिक्षा प्रणाली भन्ने बुझिन्छ । यसमा विशेष गरी सीप, कला, ज्ञान र संस्कृतिको आनुवांशिक उत्पत्तिको खोजी (Genetic Epistemology) बाट सिकाइलाई जोडिन्छ जसले गर्दा सिकाई जीवन र जीविकामा अन्तष्करणहुन्छ ।
यस पृष्ठभूमिमा नेपाल सरकारले जारी गरेको राष्ट्रिय संस्कृति नीति, २०६७, उच्च शिक्षा आयोगको प्रतिवेदन, २०७५ र राष्ट्रिय शिक्षा नीति, २०७६ मा उदघोष गरिए अनुसार मुलुकमा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्नका लागि विगत केही समय देखि यस विषयका जानकार तथा सरोकारवालाहरु रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको नाममा गठित भई अभियान चलाउदै आएका थिए। हुन त यो विषय औपचारिक अनौपचारिक तथा बौद्धिक ढंगले धेरै पहिले देखि चर्चा हुने गरेको विषय हो तर यसले मुर्त रुप लिन सकेको थिएन। पछिल्लो समय विशेष गरी गणतंत्र प्राप्ति पछि नेपालमा विभिन्न समुदायगत तथा विधागत रुपमा जस्तै किरात, नेवा, मुस्लिम, जनजाति, दलित, हस्ताकला आदि विश्वविध्यालय स्थापनाको माग जोडदार रुपमा उठ्दै आएको छ। कतिपय स्थानीयतहहरूले त यस सम्बन्धमा स्थानीय पाठ्यक्रम निर्माण गरी विध्यालयस्तरमापठनपाठन गराउन थालिसकेका छन्। तर यस्तो अध्ययनलाई उच्चशिक्षासम्म पुर्याउनका लागि त्यस्तो शैक्षिक संस्था भने हालसम्म स्थापना भएको छैन।पछिल्लो समय प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माननीय मंत्रि ज्यु र उच्च पदाधिकारीहरुसंग मिति २०७९ चैत्र ९ गते प्रस्तावित विश्वविध्यालय स्थापना संवन्धमा छलफल भएको थियो। उक्त छलफलको नतिजा स्वरुप रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारले मिति २०७९/१२/२० को निर्णयानुसार पूर्व सचिव तथा प्रतिष्ठानका अध्यक्ष डा. मान बहादुर बीकेको संयोजकत्वमापाँच सदस्यीय अध्ययन समिति गठन भएको थियो जसमा सदस्यहरु श्री राजन मुकारुङ, श्री भोगीराज चाम्लिङ.श्री गिता चौधरीर सदस्य सचिव डा. सुरेशसुरज श्रेष्ठ (मंत्रालयका सहसचिव) हुनुहुन्छ।
समितिको मिति २०७९ चेत्र ३० गते बसेको पहिलो बैठकले यसको कार्यक्षेत्र निर्धारण गरी कामकार्वाही अघि बढाएको थियो। यो अवधीमा समितिको आठवटा औपचारिक बैठक बसेर आवश्यक निर्णयहरु गरियो, विभिन्न नीतिगत प्राव्धानहरुको अध्ययन गरियो,सीपकला र संस्कृतिसंग सम्बन्धित विभिन्न विषय, विधा र पेशासंग सम्बन्धी व्यक्ति, विज्ञ, संस्थागतप्रतिनिधिहरुसंग विभिन्न चरणहरुमा आवश्यक छलफल एवं अन्तर्किया गरियो। फलस्वरुप यो प्रतिवेदन तयार भएको छ।
मानव विकासको नोक्सानीलाई दीगो रुपले अन्त्य गर्नका लागि मुलुकको मौलिक सीप, कला, ज्ञान, संस्कृति र सम्पदाको जगेर्ना गर्ने शिक्षा प्रणालीको खाचो यसले पुरा गर्ने छ। त्यस्तैSDGs, ILO 169 तथाUNESCO ले परिलक्षित गरेका विषयहरुलाई स्थानीयकरण गरी समाबेशी तथा संस्कृतिमैत्री विकासको ज्ञान निर्माणमा यो विश्वविध्यालय सहायकसिध्द हुनेछ। यसले विभिन्न समुदायगत तथा विधागत रुपमा माग गरिएका विश्वविध्यालयहरुको एकमुष्ठ संवोधन गर्ने छ।
भिन्न रणनीति अवलम्वनगरी खास रूपमा खोज, सिकाई तथा बजार मुखीसेवा तीनै आयाम एकीकृत रूपमा प्रदान गर्नेसमुदायमा आधारित एक विशिष्ट रुपान्तरणकारी (Game Changer)शैक्षिक प्रतिष्ठानको रूपमा प्रस्तावित विविलाई विकास गरिने छ। यो विवि समुदायमा आधारित गुठीयारी (Trusteeship) ढाँचामा स्थापना हुनेछ जसमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सामुदायिक संघसंस्था, व्यक्ति तथा व्यवसायिक प्रतिष्ठानहरु यसका गुठीयार हुनेछन। प्रतेक प्रदेशमा कम्तिमा एउटा विभाग वा महाविध्यालय संचालन गरिने छ भने स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाई केन्द्रहरु रहने छन। संवन्धीत रैथाने समुदायहरु सिकाईका मुख्य स्रोत हुनेछन। त्यस्ता समुदायका अगुवा वा अभ्यासकर्ता वा अध्येता वा कथावाचक यसका आधारभुत स्रोत व्यक्ति हुनेछन। उनीहरुको सामार्थ्यको स्तरलाई निश्चित कार्यविधि बनाई प्रमाणीकरण गरी उपाधी प्रदान गरिने छ।सिकाईका लागि व्यवहारिक विधि “रमाउदै सिक्दै, सिक्दै कमाउदै” को हरित उध्यमशिलताको ढाँचा अवलम्वन गरिनेछ। यो विश्वविध्यालयले आवधिक परीक्षा विधिबाट भन्दा पनि नियमित कार्यशाला मुल्याङकन विधीबाट ज्ञान, सीप र विवेकको संतुलित अन्तष्करणको स्तरका आधारमा सिकाई प्रमाणीकरण गर्नेछ। मुल्याङ्कन परंपरागत योग्यता (Merit) का आधारमा भन्दा पनि सामार्थ्य (Capability) का आधारमा गरिनेछ।
रोजगारमूखि व्यवहारिक सिकाई हुने हुदा अध्ययनका लागि विदेश जाने वा बैदेशिक रोजगारीमा जाने क्रमलाई यसले न्युनीकरण गर्ने छ भने स्थानीय उत्पादनमा आधारित आत्मनिर्भर अर्थतंत्र बनाउन यो विवि कोशेढुङ्गा सावित हुने छ। प्रस्तावित विश्वविध्यालयरैथाने प्रणालीको जगेर्ना र सुदृढीकरणको अवधारणासँग अन्तर्निहित रहेकोले समकालीन संघीय नेपालको आधारशिलासमाजवादउन्मुख हरित अर्थतन्त्र निर्माणका लागि अग्रगामी मार्ग हुनेछ।नेपालका सबै जाति समुदायको ईतिहास, पहिचान र सम्पदाको जगेर्ना मार्फत देशको आत्मसम्मान र गौरव अन्तराष्ट्रिय रुपमा बढ्दै जाने छ।
प्रस्तावित विवि स्थापनाका लागि आवश्यक नीतिगत तथा संरचनागत पुर्वाधार तैयार गर्न शिक्षा, श्रम र उध्योग मंत्रालयका प्रतिनिधी र जानकार व्यक्ति थप गरी समितिलाई रैथाने शिल्पकला तथा संस्कृति विवि पुर्वाधार विकास समितिका नाममा विस्तार गर्न र आवश्यक बजेट विनियोजनका लागि सिफारिस गरिएको छ। यसले विविको कानुनको मस्यौदा गर्ने, संभाव्य स्थानको यकिन गरी भौतिक पुर्वाधार निर्माण गर्ने, मुलुकका विभिन्न स्थानमा रहेका रैथाने सीप कला ज्ञान र संस्कृतिको नक्शांकन गरी सिकाई कार्यक्रमका आधारभुत विषयवस्तु पहिचान गर्नेतथा ती विषयको सिकाई बिधी र प्रक्रिया तय गर्ने, विवि संचालनका लागि संभाव्य स्रोतहरु पहिचान गर्नेलगायतका काम गर्ने छ।
अध्ययनका क्रममा जानकारी उपलव्ध गराउने विभिन्न सरोकारवाला निकायहरु,संबैधानिक आयोगहरु,वन्धित संघसंस्थाहरु,रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानका पदाधिकारीहरु तथा मंत्रालयका महाशाखा प्रमुख लगायतका अधिकारी ज्युहरु प्रति हार्दिक धन्यवादका साथैमा. मंत्री ज्यु, मा. राज्य मंत्री ज्यु र सचिव ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछौ। अन्तिममा, रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालयकाे कर्णाली प्रदेश स्तरीय परामर्श वैठक २०८० वैशाख २८ गते सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव श्री सन्त वहादुर सुनारकाे अध्यक्षतामा बसेकाे थियाे । साे वैठकमा विवि स्थापनाकाे लागि सुर्खेतमै स्थानीय पालिकाले जमिन उपलव्ध गराउने प्रतिवद्दता व्यक्त गरेका छन ।
(रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धि अध्ययन प्रतिवेदनको सारंश)
२०८० जेठ २९ गते