एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने



काठमाडौं। एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ अर्थात पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने प्रस्ताव एसियाली क्रिकेट परिषदले स्वीकृत गर्ने भएको हो ।

यसअनुसार आगामी सेप्टेम्बरमा हुने प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेल मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ ।

यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे एसीसीले आधिकारिक घोषणा गर्ने क्रिकइन्फोले जनाएको छ । प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने जनाइएको छ ।

पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो। भारतले पाकिस्तानमा हुने प्रतियोगितामा आफ्नो टिम नपठाउने अडान लिएपछि प्रतियोगिता नै अन्योलमा परेको थियो ।

नेपालले एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।