सिटीले जित्यो च्याम्पियन्स लिग



काठमाडौँ। इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ।

टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १(० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे।
युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ। यो सिजन सिटीले ट्रेवल (सिजनाको तीन मुख्य प्रतियोगिता) उपाधि जितेको छ। यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ।

घरेलु लिग, कप र युरोपियन कप एकै सिजनमा जित्ने पहिलो इंग्लिस टिम सिटीकै छिमेकी म्यानचेस्टर युनाइटेड हो। उसले सन् १९९९ मा यो सफलता पाएको थियो। जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनाले पनि यो सफलता पाएका छन्।

सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो उपाधि विशेष छ। सन् २०१६ मा सिटी आएयता यही उपाधिका लागि उनले ८ वर्ष कुर्नुपर्‍यो।

शनिबार रातिको फाइनल खेल हेर्न सिटीका मालिक शेख मन्सुर पनि रंगशाला पुगेका थिए। सन् २००८ मा क्लबको स्वामित्व ग्रहण गरेयता आबुधाबीका यी शेखले केवल दोस्रोपल्ट सिटीको खेल प्रत्यक्ष हेरेका हुन्। सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो।