युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित



काठमाडौँ। दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन्। यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ।

निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ। यसबाट कयौं वस्ती जलमग्न भएका छन्। बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ।

८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ। यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन्।

बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ। प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ।

रुसलाई दोष

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिएका छन्। जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइदिएको रुसमाथि आरोप छ।

रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ। बीबीसीका अनुसार युक्रेनको आरोप र रुसको खण्डन दुवै पुष्टि हुन सकेको छैन।

यो बाँध भएको क्षेत्र रुसले नियन्त्रणमा लिएको थियो। यो दक्षिणी युक्रेनका भूभागको तटीय क्षेत्रमा पानी आपूर्तिको महत्वपूर्ण च्यानल मानिन्छ। यसबाट किसानहरुलाई सिँचाइ तथा खानेपानीको सुविधा पुर्याइएको थियो। जोपोरिचास्थित आणविक ऊर्जा संयन्त्रमा पनि पानी आपूर्ति पुर्याइएको थियो।

निप्रो नदीबाट विभिन्न जलविद्युत आयोजनाबाट बिजुली निकालिएको छ। बाँध भत्किएपछि ती जलविद्युत आयोजनामा पनि पानी घटेर बिजुली उत्पादन प्रभावित हुनसक्ने अधिकारीहरुले बताएका छन्।