भारत भ्रमण अत्यन्तै फलदायी रह्यो: प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन्। भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिबार ट्वीटरमार्फत भ्रमण फलदायी भएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भनेका छन् ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो।’

उनले भारतको स्वच्छ शहरको पहिचान बनाएको इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरिएको सो क्षेत्रको भ्रमण नेपालका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गरेका थिए।

उज्जैनमा उनले महाकालेश्वर मन्दिरको अवलोकन र पुजापाठ गरेका थिए। ट्वीटरमा उनले लेखेका छन् स् ‘भारतको प्रशिद्ध प्राचिन शहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ।

म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानजीप्रति आभार प्रकट गर्दछु।’ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली आज साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।