नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् व्यापारमा भारतसँग भएको समझदारी महत्त्वपूर्ण भएको बताएका छन्। शुक्रबार नयाँ दिल्लीमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उक्त कुरा बताएका हुन्।
‘आर्थिक समृद्धिका लागि हामीसँग भएको बिजुली व्यापारको पोटेन्सिलयललाई कसरी लङ टर्ममा लैजाने भन्ने थियो। हिजो भएको पावर ट्रेड वास्तवमै ब्रेक थु नै थियो।’
प्रधानमन्त्री दाहालले आफ्नो चाहना देशभित्रै बिजुली खपत बढाउने भएको तर बेच्ने कुरा पनि सकारात्मक भएको बताए। बिजुली व्यापारमा हिजो भएको समझदारीले ठूलो लगानी भित्रिने सम्भावना बढेको उनले बताए। उनले बिहीबार मात्रै समकक्षी नरेन्द्र मोदीसँग खुलेर तीनपटक वान टु वान कुराकानी भएको र त्यो महत्त्वपूर्ण रहेको उल्लेख गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ुइन्ट्रेस्ट क्लिन इनर्जीुमा रहेको उनले बताए।
बिहीबार हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको निर्माण सम्झौता भएको छ। भारतीय कम्पनी सतलज जलविद्युत् निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो।