प्रधानमन्त्रीको भारत भ्रमण टोलिमा ज्वालासहित पाँच मन्त्री



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणदलमा रहने अधिकारीहरूको नाम पनि टुंगो लगाएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको जानकारी दिइन्।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित ५ जना मन्त्री रहने उनले जानकारी दिइन्। मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय पनि गरेको थियो ।