१४ दिनपछि खुल्यो कर्णाली कोरिडोर



कालिकोट। कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको खुलालु सलीसल्ला सडकखण्ड पूर्ण रूपमा खुलेको छ।

करिब १४ दिनपछि उक्त सडकखण्ड पूर्ण रूपमा खुलेको हो। कर्णालीमाथिको खुलालु पक्की पुलको बायाँतिरको दक्षिणतर्फको दुई वटा खाल्डा पिसिसी गर्न गत वैशाख ३० गतेबाट सडक बन्द गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले ठुला मालवाहक सवारीसाधन पिसिसी सडकबाटै आउजाउ गर्न थालेको बताए। उनले जोखिम ठाउँमा गरिएको पिसिसीमा क्यामिक मिसाएका कारणले छोटो समयमा गाडी चलाउन मिलेको बताए। उनले आरसिसी गरेको भए कम्तीमा २८ दिन पर्खिनुपर्ने थियो।

ढुङ्गाको सोलिङ पनि पिसिसी गरेकाले छोटो समयमा सडक खुलाउन सकिएको बताए। रास्कोटका स्थानीय जङ्गबहादुर फर्सालले सडक बन्द हुँदा एक हप्ता अगाडि गर्नुपर्ने घर निर्माण कार्य रोकिएको बताए। पहिला सूचना दिएको थाहा भएन। एक्कासि जिल्ला प्रशासनको सूचनामा एक हप्ता सडक बन्द हुने भनेपछि तत्काल सिमेन्ट पुर्याउन नसक्दा निर्माणमा ढिलाइ भएको हो।

सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै पनि निर्माण व्यवसायीले काम गर्ने इच्छा नदेखाएका कारण सो कार्यालयले आफैँ जोखिम ठाउँको खुलालु पुल क्षेत्रको सडक पिसिसी गरेको हो।