‘वर्षमा १ खर्बको ढुंगागिटी बगेर भारत जाने अध्ययनको निश्कर्ष छ’



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे संरक्षण गर्न र तराईको मरुभूमिकरण रोक्न सरकार गम्भीर भएको बताएका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकार आवेषमा आएर नभई वैज्ञानिक ढंगले चुरेको संरक्षण र तराईको मरुभूमिकरण रोक्न यो विषय उठाएको बताए ।

सरकारले नीति तथा कार्यक्रममा ढुंगा गिटी विदेश निकासीका लागि अध्ययन गर्ने विषय समावेश गरेको छ । सो विषयमा सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्डले चुरे दोहन या तराईको मरुभूमिकरणको समस्याबारेमा सरकार गम्भीर रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयको भूगोल विभाग र अर्को एक विभागले गरेको अध्ययनमा चुरेबाट उत्पादन हुने ढुंगा गिटीको उपयोग नहुँदा १ खर्बको ढुंगा गिटी भारतले निशुल्क उपयोग गरिरहेको देखाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘त्यसको निश्कर्ष के छ भने चुरे संरक्षण र तराईको मरुभूमिकरण रोक्न गिटी बालुवाको सही उपयोग र व्यवस्थापन जरुरी छ’ उनले भने, ‘यत्तिकै छोड्दा मरुभूमिकरण हुन सक्छ । करिब १ खर्बको गिटी बालुवा बगेर भारत जान्छ र भारतले उपयोग गरिरहेको निश्कर्ष छ ।’

त्यस्तै ५० हजार हेक्टर जमिन नदी उकास भएर नष्ट भइरहेको अध्ययनले देखाएको पनि उनले बताए । सरकारले उक्त प्रतिवेदन लागू गर्न लागेको नभई चुरेको ढुंगागिटीबारे गम्भीर ढंगले समस्या समाधान गर्नुपर्ने बताए ।