काठमाडौँ। पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणी चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईलाई राजिनामा दिन आग्रह गर्नु भएको छ।
बुधबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेकाहरूले आयोग प्रमुखको नाम पोलेको अवस्थामा स्वतन्त्र छानविनका लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्न सुझाव दिनु भएको हो।
उहाँले लेख्नु भएको छ,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राई भुटानि शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुनेथियो। उच्च पदमा पुगेको ब्यक्तित्वहरू नैतिकता देखाउनु जरूरी छ।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान कागजात बनाएको गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा आयोग प्रमुख राईको नाम लिएका थिए।