‘अहिले हामी अर्थतन्त्रलाई कुदाउने अवस्थामा छैनौं’



आज हामी सम्माननीय राष्ट्रपतिज्यूबाट सदन समक्ष गर्नुभएको सम्बोधन, नेपाल सरकारको नीति तथा कार्यक्रममा छलफल गर्न उपस्थित भएका छौं । छलफलको क्रममा माननीय सदस्यहरूबाट आ आफ्ना दलगत धारणाहरू प्रस्तुत भएका छन्। यसै सन्दर्भमा म आफ्ना धारणाहरू राख्न यहाँ उपस्थित भएको छु । म सदनमा यसअघि २०७९ साल पुस २६ गते मैले आफ्ना विचारहरू राखेको थिएँ । जहाँ मैले १५ वटा विषयहरूमा जोड दिएको थिएँ ।

तत्कालीन समयमा पनि अहिलेकै प्रधानमन्त्रीज्यू हुनुहुन्थ्यो । उहाँले ति कुराहरूलाई मनन गर्नुभएकै होला । राष्ट्रियतासँग जोडिएका विषयहरूदेखि संविधानका विषयहरुसम्म, सुशासनको सुनिश्चिततादेखि लिएर हाम्रो देशमा विद्यमान आर्थिक संकटहरु समाधान तथा समाजवादको नेपाली नमुना निर्माणदेखि कसरी सुखी नेपाली समृद्ध नेपालको निर्माण गर्न सकिन्छ? यो  परिकल्पनालाई साकार पार्नका लागि कसरी अगाडि बढ्नु पर्दछ भन्ने विषयमा पनि ध्यानाकर्षण गराएको थिएँ ।

यसैसन्दर्भमा, अहिले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा ७० पृष्ठको १ सय ८८ बुँदामा सम्बोधन आएको छ । यस सन्दर्भको छलफलमा संसद्मा आएका विचारहरूको मध्ये राम्रा विचारलाई पक्कै पनि सरकारले प्रधानमन्त्रीज्यूले ग्रहण गर्नुहुनेछ । बजेट अगाडि सार्दा तथा अन्य योजनाहरू अघि बढाउँदा ती कुराहरूमा अवश्य पनि ध्यान दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

विचार व्यक्त गर्ने क्रममा नीति तथा कार्यक्रमको कुनै अर्थ छैन भन्ने कुराहरू पनि आए । मैले यसको अध्ययन गर्दा, कागजको खोस्टो मात्र पाइन, यहाँ जुन छ वटा उद्देश्यहरू अघि सारिएको छ, अर्थतन्त्रको पुनरुत्थान गर्ने, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति गर्ने, विकास कार्यमा तीव्रता दिने, सेवा प्रवाहमा सबलीकरण गर्ने सामाजिक न्याय र प्रवर्द्धन गर्ने राष्ट्रियताको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यहरू अगाडि सारिएको छ ।

यसैसन्दर्भमा सर्वोपरि लक्ष्य तीनवटा लक्ष्य अघि सारिएको छ । राष्ट्रियताको बारेमा, भौगोलिक अखण्डताको बारेमा, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण गर्ने विषयमा । यसैगरी प्रमुख कार्यभारको रुपमा पनि तीनवटा विषयलाई उल्लेख गरिएको छ ।  गणतन्त्रलाई कसरी बलियो बनाउने, समाजवादउन्मुख अर्थतन्त्रको निर्माण कसरी गर्ने  र समावेशी शासन प्रणालीलाई कसरी संस्थागत गर्ने ।

नीतिगत प्राथमिकतामा पनि १६ वटा बुँदाहरू उल्लेख गरिएको छ । संविधान र संघीयताको प्रभावकारी कार्यन्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्चमा वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण,  शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, हरित अर्थतन्त्र, पर्यावरणीय सन्तुलन, सामाजिक विभेदको अन्त्य गर्ने, गरिबी निवारण गर्ने, समावेशी विकास गर्ने साथै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र मुलुकको राष्ट्रिय हितको रक्षा गर्ने तथा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने कुरा उल्लेख छ ।

कुनैपनि दस्तावेज आफैमा पूर्ण हुँदैन यसका लागि छलफलको आवश्यकता पर्दछ तर जुन सम्बोधन आएको छ त्यो सकारात्मक छ, देशको समस्यालाई पहिचान गरेको छ, समाधानको निम्ति आफ्नो तर्फबाट प्रयत्न अगाडि बढाएको छ । अहिले देशका सामु थुप्रै समस्याहरू छन् । अर्थतन्त्रमा रहेका समस्याहरूमा मैले १५ वटा विषयलाई अघि सारेको छु । न्यून आर्थिक वृद्धि, उच्च मुद्रा स्फीति, मूल्य वृद्धि, जनशक्ति पलायन, न्यून लगानी, न्यून पुजिँगत खर्च, तरलताको संकुचन, घट्दो राजश्व परिचालन, उच्च ब्याजदर, बाह्य क्षेत्रको सन्तुलन चाप, भुक्तानी शृङ्खला टुट्नु, जमिन बाँझो हुँदै जाने समस्या,  खाद्य संकटको नजिक, योजना छनोटको समस्या र समग्रतामा चरम अराजकता छ ।

यो अराजकता अर्थात इमान्दारिता निष्ठा र मेहनत गर्ने प्रवृत्ति कमजोर छ । कसरी देशलाई रूपान्तरण गर्न सकिन्छ यो चुनौती हाम्रोसामु छ । सामाजिक रूपान्तरण होस् आर्थिक रूपान्तरण होस् । सांस्कृतिक रूपान्तरणको अरु काम कसैले गर्ने होइन हामी नेपालीले नै हो । हामी नेपालीहरूले यो देशको विकास गर्ने हो अहिलेको राजनीतिक दलहरुले अग्रसरता लिनु पर्दछ । एउटाको प्रयासले मात्र त्यो पुरा हुँदैन ।

सदनमा मन्त्री तथा प्रधानमन्त्री भइसकेका अनुभव प्राप्त गरेका व्यक्तिहरू पनि छन् । बौद्धिक व्यक्तित्वहरू पनि छन् जनताको विषयमा समर्पित भएका सामाजिक अभियन्ता र योद्धाहरू पनि छन् । सबैको ज्ञान बुद्धि अनुभवलाई उपयोग गर्ने हो भने देशलाई हामी समृद्ध बनाउन सक्छौँ । त्यसका लागि सहकार्यको आवश्यकता छ । घोचपेच गरेर मात्र हुँदैन । आफ्नो पीडा व्यथा बोकेर मात्र हुँदैन । अरुलाई सत्तोसराप गरेर पनि हुँदैन । आफू भित्रका कमीकमजोरीलाई सबैले समीक्षा गरौँ ।  कमी कमजोरीको पहिचान गरौं । सबभन्दा ठूलो समस्या व्यक्तिवाद रोग हो ।  दोस्रो भनेको आफू सबै सर्वज्ञानी ठान्ने प्रवृत्ति । त्यसपछि तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति । अर्को, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने प्रवृत्ति । साचो अर्थमा इमान्दारिता छ भने कुनैपनि समस्याको समाधान गर्न सकिन्छ । एउटा भनाइ छ,’ where there is will there is way’ अर्को भनाइ छ,  असम्भव भन्ने केही कुरा छैन । लगनशीलता छ भने, साहस छ भने, प्राप्त गर्न सक्छु भन्ने विश्वास छ भने, तपाईं असम्भवलाई पनि सम्भव बनाउन सक्नुहुन्छ ।

सम्माननीय सभामुखमार्फत प्रधानमन्त्री ज्युलाई भन्न चाहन्छु, इमान्दारिताका साथ अघि बढ्नोस् ।  लगनशीलताका साथ अगाडि बढ्नोस् । भ्रष्टाचारको जालो तोड्नुस् । सत्ताको दुरुपयोग गर्न खोज्नेहरुको पहिचान गरेर खराब तत्त्वहरूलाई कारवाही गर्नोस् । तिनै देशले प्रगति गरेका छन् जसले जनतालाई केन्द्रमा राख्छन् ।

जनतालाई केन्द्रविन्दुमा राखेर , देशलाई केन्द्रबिन्दुमा राखेर,  जनताको निस्वार्थ सेवा भावनाबाट उत्प्रेरित काम गर्नुपर्छ । देश लाई माया गरौँ । जनताको सेवा गरौं । असल नागरिक तयार कसरी गर्ने रु जबसम्म यो देशमा हामी असल नागरिक बनाउँदैनौं, तबसम्म यो देशले रूपान्तरणको परिकल्पनालाई साकार गर्न सक्दैन । सुसंस्कृत, शिक्षित, दक्ष, इमानदार, मेहनती, लगनशील, आत्मविश्वास भएका नागरिक तयार गर्नका लागि शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ । सांस्कृतिक रूपान्तरणको कुरा पनि हाम्रो शिक्षा प्रणालीसँग जोडिएको छ । यसअर्थमा समानता र न्यायपूर्ण समाज निर्माण गर्न सुखी नेपाली र समृद्ध नेपालको मान्यतालाई अघि बढाउन सक्यौं भने मात्र नेपाली नमुनाको समाजवादको खाका तयार गर्न सक्छौं । समाजवादको यात्राबाट फर्किने काम नहोस् ।

केही व्यक्तिहरु धनी बन्दै जाने, लुटेर होस् या ठगेर होस् या कुकर्म गरेर होस् यस प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि राज्यका सबै संरचनाहरु इमानदार हुनुपर्छ । राज्यका सबै संरचनाहरु आफ्नो ठाउँमा राम्रो ढंगले काम गर्न सके भने अवश्य पनि समाजमा, हाम्रो संस्कृतिमा र हाम्रो अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ । एउटा मैले पुस्तक पढेको थिएँ, पुस्तकमा उल्लेख गरेको छ( तपाई सपना देख्नुपर्छ तर हावादारी होइन, यथार्थवादी बन्नुस् तर सपना देख्दै नदेख्ने होइन । प्रत्येक सपनालाई विपनामा रुपान्तरण गर्नका लागि यथार्थवादी हुनुपर्छ । हाम्रो देशको विकासका समस्याहरु के के छन् ती समस्याहरूको पहिचान गर्नुपर्ने आवश्यकता छ ।

अहिलेको नीति कार्यक्रममा धेरै कुराहरु आएका छन् । ति लागू हुन्छन् कि हुँदैनन् रु यस क्रममा पुराना प्रधानमन्त्रीले पनि राम्रै काम गर्नुभएको होला । राम्रो के हुन्थ्यो भने-संसदमा पूर्व प्रधानमन्त्रीहरूको प्रतिस्पर्धा गराउने हो भने आफ्नो कार्यकालमा कसले के गरे सबै ल्याएर त्यसको मूल्यांकन  संसद्ले गर्दिए पनि हुन्छ । म त्यसको लागि तयार छु । आफूले गरेका राम्रो कामको मूल्याङ्कन तथा आलोचना पनि सहनुपर्छ ।

कतिपयले हावादारी योजनाहरु पनि ल्याए । मिति नै तोकेर रेलको टिकट काट्न आव्हान गरियो । घरघरमा ग्यासको पाइप भनियो । खै कहाँ गयो घरघरमा ग्यासको पाइप रु टावरहरू पनि बने । प्राथमिकीकरण गर्नुपर्यो । कुन ठाउँमा अहिले आवश्यकता छ, त्यसमा ध्यान दिनुपर्यो । चीनको उदाहरण हेर्न सक्छौं । आगामी पाँच बर्षमा गर्ने काम तय गर्ने, त्यसपछिको पाँच वर्षको कामको योजना बनाउनुपर्छ । अहिले गर्नुपर्ने, नगरी नहुने कामको योजना बनाउनुपर्छ । यसै सन्दर्भमा त्रिभुवन विमानस्थलको विकल्पको विमानस्थल निजगढ हो भन्ने कुरामा हाम्रो ध्यान किन जाँदैनरु  यसलाई पहिलो प्राथमिकता किन दिँदैनौं रु  यो नहुँदा भोलि कति ठूलो क्षति भोग्नुपर्छ भन्ने कुरामा किन ध्यान दिँदैनौं रु निजगढ विमानस्थल मेरो प्रधानमन्त्रीत्व कालमा अघि बढेको हो । नेपालको पर्यटन तथा अर्थतन्त्रको विकासका लागि पनि यो जरुरी छ, निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय हव बन्ने सम्भावना पनि छ ।

नीति कार्यक्रम बनाउँदा प्राथमिकीकरणमा ध्यान दिनुपर्छ । शिक्षामा कति लगानी गर्नु पर्दछ रु स्वास्थ्यमा कति लगानी गर्नु पर्दछ रु जनताको स्वास्थ्य विना कुनै पनि नागरिकले आफ्नो दायित्व पूरा गर्न सक्दैन शारीरिक या मानसिक स्वास्थ्यका साथै सीप विकास गर्न सकिएन भने उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन । किताबी ज्ञानले मात्र पुग्दैन ।

देशहरु असफल हुनुको कारण संस्थागत संरचना भत्काउने प्रवृत्ति हो । योजनाले परिणाम दिन सकेन भने, लगानीले प्रतिफल दिन सकेन भने त्यस्तो ठाउँमा लगानी गर्नु हुँदैन । १० बर्षपछि प्रतिफल आउँछ भने १० वर्षपछि नै लगानी गर्नुपर्छ । २० बर्षपछि लगानी गरेपनि हुन्छ भने २० बर्षपछि नै लगानी गर्ने हो । कति बर्षमा कहाँ कहाँ लगानी गर्ने भन्नेबारेमा योजना बनाउनुपर्छ । व्यापक दृष्टिकोण राख्नुहोस् । फराकिलो सोच राख्नुहोस् । भोलिसम्मको समस्या समाधानका उपायहरु खोज्नुस् । अहिले सुरु गर्दा आफ्नो साधन स्रोतको सिमिततालाई ध्यानमा राखेर कहाँ लगानी गर्दा प्रतिफल प्राप्त हुन सक्दछ त्यो ठाउँमा लगानी गर्नुहोस् ।

आज समाजमा अनेकौं खालका समस्याहरु विद्यमान छन् । दलित छन् । अल्पसंख्यक छन् । लोपोन्मुख तथा पिछडिएको क्षेत्र छ । दुर्गम हिमाली क्षेत्र, विपन्न नागरिकहरूसँगै अपाङ्गता भएकादेखि लिएर अनेक खालका समस्याले पीडित भएका मानिसहरु छन् ।  यी सबै समस्यालाई सम्वोधन गर्नुपर्दछ । यति मात्रै होइन, भूतपूर्व ब्रिटिस गोरखाको समस्या छ । उनीहरू नेपाली हुन् । कसरी उनिहरुको नागरिकताको समस्या सम्बोधन गर्ने हो  सोचौँ ।

 यो नीति र कार्यक्रममा एक वडा एक खेल मैदान, एक पालिका एक कभर्डहल जस्ता कार्यक्रम छन् । म भन्न चाहन्छु प्रधानमन्त्रीज्यूलाई, एकै चोटी स्विच थिचेर सबै खेलमैदानको शिलान्यास नगर्नुहोला । पहिले यही प्रकृतिले बिगारेको छ । जहाँ काम सुरु हुनसक्छ त्यो ठाउँको मात्र शिलान्यास गर्नुस् । कुनै तयारी नै नगरी शिलान्यास गरेर आफ्नो पालामा भयो भनेर देखाउने यो व्यक्तिवादको प्रवृति हो । समाजमा भ्रष्टाचार कसरी निवारण गर्ने रु सदाचारको भावना कसरी बढाउने रु  आपराधिक क्रियाकलापहरु, अत्याचार, भ्रष्टाचार, शोषण, दमन, उत्पीडन, भेदभाव साथै गरिबी, पछौटेपन र अभावग्रस्त जीवन यो सबै अन्त्यका लागि सवै लाग्नुपर्छ । ढिलासुस्ती, राज्यकोषको दुरुपयोग गर्ने प्रवृत्ति अन्त्य तथा सुशासन कायम गर्नुपर्छ । कामको अनुगमन तथा मूल्यांकन गर्न तथा राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्ने कुरामा पक्कै पनि सरकारको ध्यान जानेछ ।

बिज्ञान-प्रबिधि, खोज र अनुसन्धान अन्वेषणको नवप्रवर्तनमा आधारित उद्यम व्यवसाय प्रवर्द्धनका योजना सरकारले अघि सारेकोमा मलाई खुसी लागेको छ । यसै सन्दर्भमा महावीर पुनजीले वीरगञ्जको कृषि औजार कारखानालाई फेरि सञ्चालन गर्नका लागि पहल गर्नुभएको कुरा मैले सुनें। यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु र सरकारलाई पनि धन्यवाद दिन चाहन्छु । राम्रो काम गर्नेहरु, नवप्रवर्तन गर्न चाहनेहरु अध्ययन-अनुसन्धान आविष्कार विज्ञानको मेहनतपूर्वक लाग्नेहरुलाई प्रोत्सान दिन सरकारले पहल गरिरहेको छ त्यो राम्रो हो ।  मुलुकमा विकास निर्माणको काम चित्तबुझ्दो छैन ।  समयमा काम सुरु गरिंदैन । पूर्व पश्चिम राजमार्गको सडकको दुर्दशा छ । सडकमा खाल्डैखाल्डा छ ।  सम्बन्धित पक्षले ध्यान दिनुपर्यो ।

नेपाली युवालाई विदेश पलायन हुनबाट कसरी रोक्ने भन्ने कुरालाई ध्यानमा राखियोस् । मेडिकल साइन्स पढ्ने विद्यार्थीले यहाँ कोटा सिमित गरेकोले पढ्न पाउँदैन । यहाँका कलेज नचलेर बन्द हुने अवस्था छ । यसभित्र अनेक किसिमका अवरोध छन् । अनेकौं सेटिङहरू छन् । यसतर्फ सरकारको ध्यान  जानुपर्छ ।  राम्रो देशको भुगोल- लिम्पियाधुरा लिपुलेक कालापानीको कुरा पनि यहाँ उठ्यो । प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा यसलाई उठाउनु पर्ने आवश्यकता छ । अवश्य पनि, हामी सबै छिमेकी देशदेखि लिएर सवैसँगको सम्बन्धलाई सुमधुर बनाउन चाहन्छौँ । हाम्रो देशको हित र सम्मानको कुरा गर्न चाहन्छौं । हाम्रो देशलाई स्वाभिमानी देशको रुपमा परिचित गराउन चाहन्छौं । सबैको सहयोग पनि लिन चाहन्छौं । तर हाम्रो देशमा आफैँले उत्पादन कसरी बढाउने रु उत्पादन बढाउन सकिएन भने रोजगारी सिर्जना गर्न सकिँदैन उत्पादन पाउन सकिएनन भने हामी आत्मनिर्भरतामा जान सकिँदैन । अहिलेको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्छ । नेपाली उत्पादनलाई राज्यले नै सहयोग गर्ने कुरा नीति कार्यक्रममा आएको राम्रो कुरा हो  ।

अहिले हामी अर्थतन्त्रलाई जोगाउने अवस्थामा छौं । कुदाउने अवस्थामा छैनौं । कसरी अहिलेको संकटमा जोगाउने रु विश्व अर्थतन्त्र नै ठूलो संकटको अवस्थामा छ । निजी क्षेत्र मात्र भनेर पुग्दैन । सहकारीमा जुन समस्याहरु देखिएको छ, सरकारकझ सुपरीवेक्षण हुनुपर्यो । सहयोग पनि हुनुपर्यो । स्थानीय तहमा गएको बजेटको सदुपयोग भएको छ कि छैन रु रकमको वितरण भ्रष्टाचारको वितरण मात्र भएको छ कि १ स्थानीय तहमा गएको बजेट विकासका लागि हुन सकोस् । अपांगग्राम देखि लिएर ज्येष्ठ नागरिक आवास गृह,  सडक मानवमुक्त समाजका कुरादेखि लिएर अनेक कुराहरु सरकारको नीति कार्यक्रममा ल्याइएको छ। सरकारको नीति कार्यक्रमले अहिलेका समस्याहरु सम्बोधन गर्नका लागि अवश्य पनि सहयोग पुग्नेछ भन्ने विश्वासका साथ आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु धन्यवाद ।

‘माधव नेपालले नीति तथा कार्यक्रममाथि सोमबार संसदमा राखेको मन्तव्यको सम्पादित अंश’