काठमाडौँ। काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले हराएको हो ।
भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।
बंगलादेशसँगको खेलमा नेपालका ४ जना खेलाडीले डेब्यु गरेका छन् ।
मिडलब्लकरमा कविता भट्टले सुरुवाती रोजाइमा रहँदै डेब्यु गरिन् । प्रतिस्थापन हुँदै सेटरमा प्रगति नाथ, अपोजिट स्पाइकमा पुजा थारु र लिबेरोमा शान्तिकला तामाङले पनि राष्ट्रिय टिममा डेब्यु गरे ।
यससँगै नेपालका ६ जनै नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । २ जनाले भने हिजो पहिलो खेलमा नै डेब्यु गरेका थिए ।