काठमाडौं। राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबमाथि ३-० को जित हात पारेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ ‘एन्फा’ कम्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३-० गोल अन्तरले हराउँदै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ। हारपछि फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ।
सोमवार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा सुरुवाती गोल गरेका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन्। यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ। फ्रेण्ड्स क्लब पुछारबाट दोस्रो स्थानमा छ।