कोलकातामाथि १ रनको जित निकाल्दै लखनउ प्लेअफमा



काठमाडौं। कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ।

घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरे पनि कोलकाताको जितको नजिक पुगेर पराजित भयो। रिंकुले अविजित ६७ रन बनाए पनि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाएर १७५ रन बनायो। यस सिजन उत्कृष्ट फर्ममा रहेका रिंकुले ३३ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। ओपनर ज्यासन रोएले ४५ र वेनकाटेश अयेरले २४ रन बनाए।

कोलकातालाई जितबाट रोक्न लखनउका रवि बिश्नोइ र यश ठाकुरले २/२ तथा क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले समान एक/एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नखनउले खराब सुरुआत गरेपनि निकोलस पुरनको उत्कृष्ट ब्यनटिङमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो।

सातौं नम्बरबमा ब्याटिङ गरेका पुरनले ३० बल खेल्दै ४ चौका र ५ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए। ७३ रनमै ५ विकेट गुमाएको लखनउका लागि पुरन र आयुष बदोनीले ७४ रनको साझेदारी गरे। बदोनीले २१ बलमा २५ रन बनाए। क्वेन्टन डे ककले २८ र प्रेरक मानकाडले २६ रन बनाए।

कोलकाताका वैभव आरोरा, शार्दुल ठाकुर र सिनल नारिनले २/२ तथा हर्शित राना र वरुण चक्रवर्तीले समान एक/एक विकेट लिए। जितपछि लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ। गत सिजन आईपीएलमा डेब्यु गरेको लखनउ लगातार दोस्रो सिजन प्लेअफ पुगेको हो। यसअघि नै साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

शीर्ष दुईमा स्थान पक्का गरेका गुजरात र चेन्नाइले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ। लखनउले भने चौथो हुने टिमसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ। प्लेअफ पुग्ने होडमा रोएल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र राजस्थान रोएल्स छन्। आइतबार लिग चरणका अन्तिम दुई खेलपछि प्लेअफ पुग्ने थप एक टोली टुङ्गो लाग्नेछ। आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेल्नेछ।