कोभिड संकटकाल अन्त्यको अर्थ के हो र अब के हुन्छ ?



विश्व स्वास्थ्य संगठनले गत मे ५ मा विश्वव्यापी कोभिड संकटकाल अन्त्यको घोषणा गरेको छ । अर्थात् संगठनले कोभिड १९ अब अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालको रुपमा नरहेको ठहर गरेको छ ।

अब आपतकालीन प्रतिकार्यको साटो कोभिड रोगको दीर्घकालीन दीगो व्यवस्थापनतर्फ लाग्ने सम्बन्धमा विश्वस्वास्थ्य संगठनले हालै नयाँ रणनीति अबलम्बन गरेको सन्दर्भसँगै पछिल्लो घोषणा मेल खाएको छ ।

यद्यपि यसले व्यवहारिक रुपमा ठूलो परिवर्तन भने आउने छैन । कोभिड १९ को हैसियत अझै पनि विश्वव्यापी महामारीकै रुपमा यथावत रहनेछ भने यसलाई आफ्नो मुलुकभित्र स्वास्थ्य आपतकालको रुपमा लिने कि नलिने भन्ने निर्णयको अधिकार सम्बन्धित मुलुकहरुलाई नै हुनेछ ।

स्मरण रहोस् अमेरिकालगायतका विभिन्न मुलुकहरुले कोभिड-१९ को राष्ट्रिय आपतकालको अन्त्यको घोषणा गरिसकेका छन् । तथापि विश्वको जनस्वास्थ्य समुदायका लागि यो घटना ऐतिहासिक महत्वको छ । योसँगै सन् २०२० को जनवरी ३० देखि सुरु भएको कोभिड महामारीविरुद्धको विश्वव्यापी आपतकालीन प्रतिकार्यको अन्त्य भएको छ ।

उता आम मानिसहरुको ठूलो हिस्साले भने कोभिड-१९ संकटकाल अन्त्यको घोषणा भएको घटना खासै चासोको विषय नहुन पनि सक्दछ र यसले केही असर पार्दैन पनि । किनकि कोभिड-१९ महामारीको वास्तविक संकटकालीन अवस्थाको अन्त्य भएको लामो समय भैसकेकेा छ ।

उदाहरणको लागि बेलायतमा राष्ट्रिय तथ्यांक कार्यालयको जन अभिमत सर्भेक्षणका क्रममा आम मानिसहरुले हाल मुलुकमा रहेका अहिलेको ज्वलन्त सवालहरुको बारेमा भन्नुपर्दा कोभिड-१९ को नाम लिन छाडिसकेका छन् । उक्त सर्भेक्षण अनुसार एक वर्ष अगाडि नै हरेक ५ जनामा केवल २ जना बेलायतीले मात्रै कोभिड १९ का बारेमा चिन्ता व्यक्त गरेको पाइएको थियो ।

त्यस्तै पछिल्लो तीन वर्षको महामारीका सम्बन्धमा आम बेलायतीहरुमा गरिएको सर्भेक्षणका क्रममा मानिसहरुका लागि कोभिड-१९ अब अतीतको सम्झना बनिसकेको छ वा उनीहरुले त्यो बिर्सिसकेको पाइएको छ ।

महामारीपछि अर्को चरणमा प्रवेश गरिरहँदा महामारीको समयमा मानवीय व्यवहारका विषयमा सिकेका कुरा वा आगामी दिनमा के होला ? भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक नै हुन्छ ।

लागेको बानी छाड्नै गाह्रो

मानव व्यवहारका अनुसन्धानकर्ताहरुलाई समेत महामारीको सुरुवाती दिनहरुमा के लागेको थियो भने महामारीका बेला हामीले अबलम्बन गरेका आनीबानीहरु दीर्घकालीन हुने पो हुन् कि भन्ने लागेको थियो । के अब मास्क हाम्रो नियमित पहिरन जस्तै बन्ला ? के मानिसहरु अब अंकमाल गर्न छाड्लान् ? के अब हल्का विसन्चो भएको बेला पनि काममा जान छाड्लान् आदि ?

तर वास्तवमा के भैदियो भने महामारीले समेत हाम्रा आनीबानी तथा व्यवहारहरुमा स्थायी परिवर्तन ल्याएन । साथै यसले पूरै चिजहरु पूर्ववत् अवस्थामा फर्किन पनि दिएको छैन ।

उदाहरणको लागि बेलायतमै पनि मानिसहरुमा मास्क लगाउने क्रम निरन्तर घटिरहेको छ । हाल हरेक ६ जनामा एक जना बेलायतीले मात्रै मास्क लगाउने गर्दछन् । अझ नियमित रुपमा मास्क लगाउने क्रम त निकै घटेको छ । यद्यपि थोरै संख्याका मानिसहरुले भएपनि मास्क लगाउने गरेका छन् ।

त्यस्तै महामारीका बेलामा सुरु भएको सामाजिक दूरीको प्रचलन पनि कोभिड संक्रमणको निकै जोखिमपूर्ण वर्ग बाहेकमा धेरै पहिलेदेखि नै हराइसकेको छ । कोभिड महामारीले हामीलाई अनुकूलित व्यवहार कसरी देखाउनु पर्छ तथा मानिसहरु आफू र अरुलाई समेत सुरक्षित राख्नका लागि आफ्नो आनीबानी सुधार्न कत्तिको चाहन्छन् भन्ने कुरा सिकाएको छ ।

अनेक कठिनाइका बाबजुत पनि अधिकांश मानिसहरुले महामारी चरम विन्दुमा रहेको बेलामा नियमहरु पालना गरिरहे । कोभिडले हामी मानिसहरु कतिसम्म लचक छौं भन्ने कुराको पनि स्मरण गराएको छ ।

महामारीका बेला गरिएको अनुकुलन तथा तत् पश्चात् छिटै आफ्ना व्यवहारलाई महामारीपूर्वको अवस्थामा फर्काउन सक्नुले हाम्रा व्यवहारहरुमा सामाजिक मूल्य तथा सामाजिक संकेतहरु कति महत्वपूर्ण छन् भन्ने देखाएको छ । त्यसबेला मास्क लगाउने वा अन्य मानिससँग सामाजिक दूरी कायम गर्ने कुरा हामीले स्वतस्फूर्त रुपमा अँगालेका आनीबानी थिए जुन तत्कालीन सन्दर्भका उपज थिए ।

हामीले मानिसहरु एक अर्कामा सामाजिक दूरी कायम गरेका तस्वीरका संकेतहरु हेरेरै पनि त्यसलाई अबलम्बन गरेका थियौं । भ्याक्सिन लगाउने तथा आम रुपमा हामीले अबलम्बन गरेका अन्य रोकथामका उपायहरुका लागि सामाजिक मूल्यहरु निकै महत्वपूर्ण रहे । तर जब त्यस्तो परिस्थितिजन्य अवस्था समाप्त भयो र सामाजिक मूल्यहरु पनि परिवर्तन हुन थाले अनि भ्याक्सिनको कभरेज बढेर अधिकांश मानिसमा कोभिडको जोखिम घट्दै गयो तब हाम्रो व्यवहार पनि परिवर्तन भएको छ ।

यो महामारीले हामीलाई सामाजिक सम्बन्ध तथा सामाजिक, खासगरी भौतिक सम्पर्क कति महत्वपूर्ण हुन्छ भन्नेपनि देखाएको छ । वास्तवमा सामाजिक प्राणीको रुपमा रहेको मानिसका लागि महत्वपूर्ण रहेका सामाजिक सम्बन्ध तथा सम्पर्कहरुलाई कोभिडले सधैका लागि अन्त्य गर्न सक्दैन ।

सामाजिक सुरक्षा सिद्धान्त, जसले जैविक, मनोवैज्ञानिक तथा सामाजिक पक्षहरुको संयोजन नै मानिसमा उत्पन्न हुने तनाव तथा सुखपूर्ण जीवन हो भन्दछ, त्यस अनुसार कोभिड-१९ ले मानिसलाई लचक बनाउने तथा हामीलाई जिवित र स्वस्थ राख्ने सामाजिक जालोमा चुनौती पैदान गरेको छ ।

लकडाउनका बेला आम मानिसहरुको जीवनप्रतिको सन्तुष्टि तथा खुसी सबैभन्दा कम रहेको तथ्य अस्वभाविक होइन । तर अहिले मानिसहरु सामाजिक रुपमा पुनः हेलमेल हुन थालेसँगै जीवन सन्तुष्टि तथा खुसी पुनः फर्किन थालेको छ ।

सबैका लागि संकटकाल सकिइसकेको छैन

हामीले कोभिड १९ संकटकाल अन्त्यको खुसी मनाइरहँदा के कुरा पनि भुल्नु हुँदैन भने कोभिड महामारी सुरु भएसँगै सन् २०२० यता झण्डै ७० लाख मानिसको मृत्यु भैसकेको छ ।
र, आफ्नो स्वास्थ्य समस्या रहेका वा संक्रमणकेा जोखिममा रहेका मानिसहरुका लागि अझै पनि कोभिड आपतकाल अन्त्य भएको छैन र सायद यो कहिल्यैपनि सकिनेवाला पनि छैन ।

यद्यपि विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ अहिले विश्व स्वास्थ्य संकटको रुपमा छैन तर अहिलेपनि विश्वमा हरेक हप्ता दशौं लाख संक्रमण तथा हजारौं मृत्युका लागि कोभिड १९ जिम्मेवार छ । साथै करोडौं मानिसहरुलाई दीर्घकालीन उपचार तथा स्याहारको आवश्यकता छ ।

भविष्यमा हामीहरु व्यक्तिगत तहको सहनशील क्षमताको निर्भरताबाट हाम्रा संस्थाहरुको सहन क्षमताको विकासमा लाग्नु आवश्यक देखिन्छ ।

हामीहरु सबैजना कोभिड-१९ तथा अन्य स्वासप्रस्वासजन्य भाइरसबाट आफूलाई बँचाउनका लागि विभिन्न उपाय अपनाउन सक्दछौं । यसमा हात धुने, भ्याक्सिन लगाउने आदि रहेका छन् । तर सार्वजनिक स्वास्थ्य संकटकालको रोकथाम गर्ने जिम्मेवारी केवल सर्वसाधारणको काँधमा मात्र राखिदिनु हुँदैन ।

अहिले सरकार तथा स्वास्थ्य अधिकारीहरुले चाल्ने कदमले भविष्यका जनस्वास्थ्य संकटहरुबाट बचाउन सक्दछ ।

गलत तथा भ्रामक सूचनासँग प्रणालीबद्ध रुपमा जुध्ने, स्कुलका साथै कार्यस्थल र कुनै भवनभित्र रहेका सार्वजनिक ठाउँहरुमा हावाको प्रसार अर्थात् भेन्टिलेसनकेा उचित प्रबन्ध गर्ने तथा तलबी बिरामी बिदाको दीर्घकालीन सुधार गर्नेलगायतका कुराहरु अर्को महामारीसँग जुध्ने तयारीका लागि उत्तम मार्ग हुन् । हामीले अब हाम्रो जीवनकालमा यस्तो महामारी देख्न नपरोस् भनेर आशा गरौं ।

द कन्भर्सेसनबाट