काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयले निजी कलेजहरूलाई सम्बन्धन दिने प्रक्रियालाई जारी राखपछि अखिल (क्रान्तिकारी) ले रिले अनसन सुरू गरेको छ।
म.प विश्वविद्यालयले सोमबार मात्रै उक्त निर्णय खारेज गरेको थियो। विश्वविद्यालय निजी, सहकारी र सरकारी कलेजहरुलाई सम्बन्धन दिनका लागि सुचना प्रकाशित गरेको थियो।
सोमबार आन्दोलनरत विद्यार्थी र मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरीय समस्या समाधान समितिवीच भएको वार्तामा सम्बन्धन सम्वन्धी सम्पूर्ण प्रक्रिया खारेज गर्ने निर्णय गरिएपनि मपका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले मंगलबार निर्णय जारी रहेको विज्ञप्ति जारी गरेका छन्। वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित गरेपनि म.प विश्वविद्यालय पुनः आफ्नो निर्णयबाट पछि नहटेको भन्दै अखिल (क्रान्तिकारी) ले रिले अनसन सुरू गरेको संगठनकी केन्द्रीय सदस्य ममता अधिकारीले जानकारी दिएकी छन्।
उनले शिक्षामा नीजिकरण र ब्यापारिकरण आफूहरूलाई स्वीकार्य नभएको भन्दै आफूहरूले रिले अनसन सुरू गरेको कर्णाली सन्देशलाई जानकारी दिएकी छन्। सोमबारको वार्तामा विज्ञान तथा प्रविधि एवम् न्जिनियरिङ संकायका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरीय समस्या समाधान समितिका संयोजक सहप्रध्यापक सुदिप ठकुरी, प्रध्यापक डा.दीपबहादुर रावल, प्रा.डा.विमल कुमार लाल कर्ण, सहप्रध्यापक वीरबहादुर पौडेल र उपप्रध्यापक जसवीर रोका थिए।