काठमाडौँ। नेपाली कांग्रेसका नेताहरुले चुनावअघिको गठबन्धनका कारण पार्टी कमजोर भएको धारणा राखेका छन्। चुनावअघिको गठबन्धनबाट ४ मंसिरको चुनावमा र गत १० वैशाखको उपनिर्वाचनमा आशा गरे अनुसारको नतिजा नआएको नेताहरुले बताएका छन्।
१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने धारणा राखे। ‘कांग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरु दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौं,’ थापाले भने, ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौं।’
कांग्रेसबाहेक सबै दल एक ठाउँमा उभिए पनि कांग्रेस चुनावअघिको गठबन्धनको विपक्षमा उभिनुपर्ने उनको भनाइ छ। थापाले पार्टीमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने पनि बताए। ‘एकैपटक तीन पुस्ताका व्यक्तिहरु पार्टीमा छौं । नयाँ साथी आउन खोज्दै हुनुहुन्छ। बाहिरबाट आउने साथीहरुलाई झ्याल ढोका थुनेर रोक्नु हुँदैन’, थापा भन्छन्, ‘पार्टीभित्र क्षमता देखाउन सक्छु भन्ने व्यक्तिहरुलाई स्वीकार हुने व्यवस्था गर्नुपर्दछ।’
उम्मेदवार छनोट गर्ने पार्टीको हालको अभ्यास पनि बेठीक रहेको उनले बताए। ‘पार्टीका केही नेताहरु बसेर उम्मेदवार छान्ने अभ्यासले हामीलाई ठीक ठाउँमा पुर्याएन’ थापाले भने।
केन्द्रीय सदस्य नैनसिंह महरले २०औं वर्ष प्रतिपक्ष बस्न परेपनि चुनावी गठबन्धन गर्नै नहुने तर्क राखे। उपनिर्वाचनले कांग्रेसलाई सच्चिने अवसर दिएको उनले सुनाए। ‘नेतृत्वलाई सचेतना आएको बुझेको छु। हामीमाथि लागेका आरोप व्यवहारले खण्डन गर्न सक्नुपर्छ’, महरले भने।
सहमहामन्त्री बद्री पाण्डेले मजदुर आन्दोलनको योगदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था आएको सुनाए। पछिल्लो समय ट्रेड युनियनलाई विकासका वाधक हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिएको प्रति उनले असन्तुष्टि जनाए।
‘ट्रेड युनियन विकासका साधक होइन, विकासका बाधक भए भन्ने प्रश्न आएको छ’,सहमहामन्त्री पाण्डेले भने, ‘विद्यार्थी र मजदुर आन्दोलनबाट यो अवस्थामा आएको बुझेनन् भने उनीहरु पूर्वाग्रही छन्।’