बार्सिलोनाको जितमा यामलको कीर्तिमान



काठमाडौँ। १५ वर्षीय लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। र, शनिबार राति भएको स्पानिस ला लिगाको यसै खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-० ले पराजित गरेको छ।

यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता कायम नै राखेको छ। त्यसअघि करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अल्मेरियालाई ४-२ ले पराजित गरेको थियो।

बार्सा एकेडेमी प्रडक्ट यामाल ८४औं मिनेटमा गावीको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन्। उनले १५ वर्ष २९० दिनको हुँदा बार्सिलोनाका लागि खेल्दै कीर्तिमान बनाए। यसअघि बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरको कीर्तिमान अंशु फातीको नाममा थियो।

यस्तै यामाल ला लिगामा डेब्यु गर्ने पाँचौ कम उमेरका खेलाडी बने। ला लिगा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी भने लुका रोमेरो हन्। उनले १५ वर्ष २१९ दिनको हुँदा २०२० मा रियल मड्रिडविरुद्ध डेब्यु गरेका थिए।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं, रोबर्ट लेवान्डोस्कीले ३६औं र राफिन्हाले ३९औं मिनेटमा गोल गरे ।

बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा आत्मघाती गोल उपहार दिए । बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए । जितपछि बार्सिलोनाको ८२ खेलबाट ७९ अंक छ । अब लिगमा ६ चरणको खेल बाँकी हुँदा बार्सिलोनाले ३ खेल जितेमा उपाधि जित्नेछ ।

बेन्जेमाको ह्याट्रिक

करिम बेन्जेमाको ह्याट्रिक मदतमा रियल मड्रिडले अल्मेरियालाई ४-२ ले हरायो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बेन्जेमा पहिलो हाफमै ह्याट्रिक गरेका थिए । र, खेलको पाँचौ मिनेटमै गोलको खाता खोलेका बेन्जेमाले १७औं मिनेटमा अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । रोड्रिगोले ४७औं मिनेटमा एक गोल थपे । अल्मेरियाका लागि भिनिसियस मार्कुएसले पहिलो हाफको इन्जुरी टाइममा र लुकास रोबर्टोनले ६१औं मिनेटमा गोल गरे । जितपछि दोस्रो स्थानको रियलको ३२ खेलबाट ६६ अंक छ । रियल लिग लिडर बार्सिलोनाभन्दा ११ अंकले पछि छ ।