सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत लिएका छन्।
शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन्।
त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन्। ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए।
मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए। यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए। त्यो बेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो।
राप्रपाले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शर्माले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए। तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् । पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बनेका हुन्। शर्मा रुकुम पश्चिम–२ बाट निर्वाचि भएका हुन् ।