झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको गृह जिल्लामा कालोझण्डा देखाउनुका सार्थ ढुंगामुडा भएको छ। बुधबार गृह जिल्ला आएका ओलीलाई ‘कोशी प्रदेश’ नामाकरणको विरोधमा उत्रिएकाहरुले कालोझन्डा देखाएका हुन्।
झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई पहिचानवादीहरूले कालोझन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए। उनीहरुले ‘कोशी प्रदेश चाहिँदैन’ जस्ता नारा लगाउँदै ओलीलाई कालोझन्डा देखाएका थिए भने केही ढुंगामुढासमेत भएको थियो । पहिचानवादीले ओलीको चर्को विरोध गरेको प्रहरीले सय मिटर वर नै रोकेका थिए।
कालोझन्डा देखाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। गृहमन्त्री श्रेष्ठले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सो जानकारी गराएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, एसपी दुर्गाराज रेग्मीले पनि घटनामा संलग्न २ जना पक्राउ गरिएको पुष्टि गरेका छन्। उनले एक्कासी प्रदर्शनकारीले ढुंगा प्रहार गरेको बताउँदै ढुंगाले प्रहरीको टाउकोमा चोट लागेको बताए।
प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते कोशी राखिएको थियो। तर, पहिचानवादीहरुले पहिचानको मा आधारमा प्रदेशको नाम राख्नुपर्ने मागग गर्दै आन्दोलन गर्दै आएका छन्।