काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गरेकी छन् ।
बलियो कानुन बनाएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने भएकाले त्यसमा सबै राजनीतिक दल, सामाजिक संघ, संस्थाहरुले साझा संकल्प लिएर अघि बढ्नुपर्ने मन्त्री शर्माको भनाई थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भ्रष्टाचारलाई सदाका निम्ति अन्त्य गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् ।
मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राम्रालाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्ने कुरालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताइन् ।
मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।