जब सन् २०२१ को अगष्ट १५ मा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमायो, त्यतिबेला नाहिदा सपान काबुल विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनी अफगानिस्तानको महिला क्रिकेट टिमकी अलराउण्डरसमेत थिइन् ।
बीबीसीसँगको कुराकानीमा नाहिदा भन्छिन्- शिक्षकले हामीहरु सबैलाई घर जान भन्नुभयो । हामी सबै उठ्यौं र मैले देखें कि तालिवानहरु घरतर्फ जाँदै थिए । म वास्तवमै निकै डराएँ ।
घर गएलगत्तै सपानले आफ्ना सबै क्रिकेट किटहरु जम्मा गरिन् र घरको बेसमेन्टमा लगेर लुइकान् । उनी आफ्नो टिमकी स्कोरर पनि थिइन् । त्यसैले उनी घरको पछाडि लगेर आफ्ना सबै स्कोरबुकहरु जलाइन् ।
सपानका दाइ अफगानिस्तानको पूर्ववर्ती सरकारको कर्मचारी थिए । त्यसपछि तालिवानले आफ्नो परिवारलाई फोन तथा मेसेज गर्न थालेको उनी बताउँछिन् ।
उनी भन्छिन्- उनीहरु प्रत्यक्ष रुपमा धम्की दिइरहेका थिए । कुनै दिन मलाई फेला पार्ने र फेला पारेमा ज्युँदो नछाड्ने बताउँथे । हामीमध्ये एकजनालाई फेला पारेमा त्यसपछि सबैलाई फेला पार्ने उनीहरुको धम्की थियो ।
सपान पीडाले आतंकित बनिरहेकी थिइन् । उनका हातहरु काँपिरहेका थिए । उनी यति धेरै डराइन् कि उनी साँच्चीकै विक्षिप्त बनेकी थिइन् । कुनै बेला ढोकामा ढकढक आवाज आउँदा पनि उनीहरूले हामीलाई फेला पारेको र अब मार्न लागेको भन्ने सोचाइ आउँथ्यो ।
आफूलाई त्यसबेला धम्की दिनेहरु अहिले सरकारमा रहेको उनी बताउँछिन् ।
त्यसपछि केही महिनासम्म सपान र उनको परिवार एकपछि अर्को घरमा सरेर भाग्दै बस्यो । एकदिन उनी सीमा पार गरेर पाकिस्तानमा भाग्न सफल भइन् । र, अन्ततः उनी त्यहाँबाट अष्ट्रेलिया आइन् र आफ्नो राष्ट्रिय टोलीका अन्य महिला सदस्यहरुसँग भेट गरिन् ।
उनीहरु अहिले तालिवानको पञ्जाबाट बाहिर छन् । सपान र उनका साथीहरु अझै पनि आफ्नो करिअर अघि बढ्ला भन्ने पर्खाइमा छन् ।
अमेरिका नेतृत्वको सेनाको आक्रणबाट तालिवान शासन ढलेको ९ वर्षपछि सन् २०१० मा अफगानिस्तनमा पहिलोपटक महिला क्रिकेट टिम बनेको थियो ।
सुरुवाती केही वर्षसम्म त अफगानिस्तानको क्रिकेट बोर्डले तालिवान विद्रोहीबाट धम्की आएको कारण देखाउँदै मुलुकको महिला क्रिकेट टिमलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागिता जनाउनमा बन्देज लगाएको थियो ।
तर जब अफगानिस्तानको पुरुष क्रिकेट टिमको हैसियत बढ्दै गयो तब क्रिकेट बोर्डले महिला क्रिकेटलाई पनि गम्भीरतापूर्वक लिन थाल्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नियम अनुसार पनि यसका १२ वटा पूर्ण सदस्य मुलुकहरुमा राष्ट्रिय महिला क्रिकेट टिम हुनु अनिवार्य हुन्छ । अफगानिस्तान सन् २०१७ मा आईसीसीको पूर्ण सदस्य बनेको हो । योसँगै सन् २०२० मा अफगानिस्तानमा २५ जना महिला क्रिकेटरहरुलाई क्रिकेट बोर्डले अनुबन्ध गर्यो ।
तर त्यसको एक वर्षपछि नै तालिवान सत्तामा फर्किएपछि त्यसले अफगानी महिला क्रिकेटरको मात्र होइन सबै अफगानी महिलाहरुको सपना ध्वस्त बनायो । तालिवानले महिलाहरुलाई विश्वविद्यालय, पार्क तथा खेलकुदमा प्रतिबन्ध लगायो र महिला खेलाडिहरुको घरमा छापा मार्न थाल्यो ।
सपानलगायत अफगानिस्तानको राष्ट्रिय महिला क्रिकेट टिमका तत्कालीन २० जना सदस्यहरु अहिले अफगानिस्तानबाट भागेर अष्ट्रेलिया आइसकेका छन् । त्यसरी भाग्न सफल अर्की क्रिकेट खेलाडि १७ वर्षीया आयशा युसोफजाइ हुन् ।
तालिवानको चेकप्वाइन्ट पार गरेर पाकिस्तान आउँदाको त्यो त्रासदीपूर्ण यात्राको उनलाई अहिलेपनि सम्झना छ ।
उनी भन्छिन्- तालिवानले महिलालाई आफ्नो अनुहार अरु पुरुषलाई देखाउनमा रोक लगाएको हुनाले हामीले आफ्नो अनुहार छोपेका थियौं । त्यसैले उनीहरुले हामीलाई चिनेनन् । हामीहरु निकै डराएका थियौं । धन्न उनीहरुले हामीलाई आफ्नो अनुहार देखाउन भनेनन् ।
युसोफजाई पाकिस्तान पुग्न सफल भइन् र त्यहाँबाट उनी लगायत अफगानी महिला क्रिकेट टोलीका सदस्यहरुलाई अष्ट्रेलिया ल्याउनका लागि अष्ट्रेलियन सरकारले उडानको व्यवस्था गर्यो ।
तर क्रिकेट टिमका सबै महिला खेलाडि र उनका परिवारलाई अष्ट्रेलिया जाने भाग्य जुरेन । युसोफजाई भन्छिन्-अफगानिस्तानमा अहिले कसैका लागिपनि राम्रो छैन, खासगरी महिलाका लागि । त्यहाँ महिलालाई पढ्ने, काम गर्ने र पुरुषविना हिँड्ने अधिकार पनि छैन ।
सपान र युसोफजाईले अष्ट्रेलियामा जीवनयापन सुरु गरिसकेका छन् । दुवैजनाले अध्ययन सुरु गरेका छन् र उनीहरु अफगानिस्तानको तुलनामा अष्ट्रेलियामा प्राप्त गरिरहेको स्वतन्त्रताप्रति अनुग्रहित छन् ।
सपान भन्छिन्-अष्ट्रेलियामा बस्नु भनेको साँच्चिकै बाँच्नु जस्तो लागेको छ । हामी अफगानिस्तानमा रहँदा त केवल अस्तित्व बचाएको जस्तो मात्रै थियो । अहिले मलाई आफ्नो भविष्यप्रति आशा जागेको छ । आफ्नो सपना पूरा गर्न सक्दछु भन्ने आशाको अनुभूति भएको छ ।
तर अष्ट्रेलियन सरकारप्रति कृतज्ञ भएपनि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आफूहरुलाई बेवास्ता गरेको उनीहरुको दुखेसो छ ।
सन् २०२१ मै अफगानिस्तान वर्किंग ग्रुप स्थापना गरेता पनि आईसीसीले अहिलेसम्म आफूहरुसँग सम्पर्क नगरेको उनको भनाइ छ । महिला टोलीले गत डिसेम्बरमा आईसीसीलाई पत्र लेखेको थियो । तर त्यसको जवाफमा आईसीसीले सो कुरा अफगानिस्तान क्रिकेट बोर्डको विषय भएको बताएको थियो ।
सपान भन्छिन्- आईसीसीले हाम्रो भविष्यको बारेमा के निर्णय गर्दैछ भन्ने कुराको जानकारी पनि हामीलाई दिइएको छैन । उनीहरु हाम्रो बारेमा कुराकानी गर्नका लागि दुईपटक दुबई पुगे तर हामीलाई सुइँको दिइएन । हामीले केवल इन्टरनेटबाट मात्रै थाहा पायौँ । हामीहरुले कस्तो अनुभव गरिरहेका छौँ र हामीले के चाहन्छौँ भन्ने बारेमा हामीलाई सम्पर्क गरेर कसैले केही सोधेको छैन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्यको रुपमा अफगानिस्तानसँग अनिवार्य रुपमा आफ्नो राष्ट्रिय महिला क्रिकेट टिम हुनुपर्दछ ।
अष्ट्रेलियामा बसिरहेका आफूहरुलाई नै अफगानिस्तानको आधिकारिक महिला क्रिकेट टिमको मान्यता दिन र अफगान क्रिकेट बोर्डलाई दिने बजेटको केही हिस्सा आफूहरुलाई प्रदान गर्न पनि उनीहरुले आईसीसीसँग अनुरोध गरेका छन् ।
तर गत मार्चमा आईसीसीले महिला टिमको बारेमा कुनै पनि अपडेट नदिइकन अफगानिस्तान क्रिकेट बोर्डको बजेट उल्लेख्य रुपमा बढाएको छ ।
यसरी आर्थिक सहायताको अभाव हुँदा महिला खेलाडिहरुले नियमित रुपमा प्रशिक्षण गर्न र कुनै आधिकारिक खेलमा सहभागी हुन सक्दैनन् ।
सपान भन्छिन्- आईसीसीले हामीलाई र अफगानी महिलाहरु जसलाई अझै पनि क्रिकेट खेल्न पाउने आशा छ, उनीहरुलाई नभुलोस् भन्ने म चाहन्छु । अफगानिस्तानमा क्रिकेट खेलाडी बन्न चाहने छोरीहरुको संख्या धेरै छ ।
ह्युमन राइट्स वाचकी निर्देशक मिंकी ओर्डेन पनि अष्ट्रेलियामा रहेको अफगानी महिला क्रिकेट टिमलाई आईसीसीले मान्यता दिनुपर्ने र अफगानीमा रहेका महिलाहरुलाई समेत क्रिकेट खेल्न दिनुपर्ने बताउँछिन् ।
यदि त्यसो गर्न नसकेमा अफगानिस्तान क्रिकेट बोर्डलाई निलम्बन गर्नुपर्ने पनि उनको मत छ । यसरी आईसीसीबाट निलम्बन भएमा अफगानी पुरुष क्रिकेट टिमले पनि अन्तराष्ट्रिय क्रिकेट म्याच खेल्न पाउने छैन ।
ओर्डेन भन्छिन्- नियम भनेको नियम हो । खेल भनेकै नियममा चल्छ । उदाहरणका लागि यदि न्युजिल्याण्डले एक्कासी अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा केवल पुरुष टिमलाई मात्र पठाउने भन्यो भने त्यसबारेमा आईसीसीले केही त बोल्नै पर्दछ । तर अफगानिस्तानको हकमा किन यस्तो कुरुप दोहोरो मापदण्ड ?
अफगानिस्तानमा क्रिकेट निकै लोकप्रिय रहेको बुझेको तालिवानले देशको पुरुष क्रिकेटलाई भने खुल्ला रुपमा सहयोग गरेको छ । त्यसैले यदि अफगानिस्तानको पुरुष क्रिकेटलाई समेत अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिनबाट रोकिएमा त्यसले महिलालाई खेलकुदमा भाग लिनबाट लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिवानमाथि दबाबा सिर्जना हुनेछ ।
उता सपान र युसोफजाई भने अफगानी पुरुष क्रिकेट टिमलाई खेल्नमा बन्देज लगाइयोस् भन्ने पक्षमा छैनन् ।
आईसीसीका प्रवक्ताकाले पनि अफगानिस्तान क्रिकेट बोर्डलाई सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको र अफगानिस्तान क्रिकेट बोर्ड र त्यहाँका खेलाडीहरुलाई देशको कानूनको पालना गरेको आधारमा कुनै कारबाही नगरिने प्रष्ट पारेका छन् ।
आफ्नो देशका पुरुष तथा महिला राष्ट्रिय खेलाडीलाई मैदानमा उतार्ने भन्ने कुराको अधिकार आईसीसीलाई नभै कुनै पनि देशको क्रिकेट बोर्डसँगै रहने भन्दै उनले अफगानिस्तानमा क्रिकेटको विकासका लागि आईसीसीले रचनात्मक सहयोग निरन्तर गरिरहने उनले बताए ।
यद्यपि यस विषयमा अफगानिस्तान क्रिकेट बोर्डले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
सपान र युसोफजाइ भविष्यमा कुनै दिन आफ्नो जन्मभूमि अफगानिस्तान फर्किन पाउने आशामा छन् ।
युसोफजाइ भन्छिन्- म जहाँ जन्मिएँ त्यहीँ अफगानिस्तानमा गएर देशका लागि फेरि पनि खेल्ने मेरो इच्छा छ । अहिले अष्ट्रेलियामा मैले पाएजस्तै वाक स्वतन्त्रता, लैंगिक समानता र अवसर पाएमा म अफगानिस्तान नै फर्किन चाहन्छु। तर यदि त्यसो नभएमा अफगानिस्तानमा फर्किने छैन ।
सपान र युसोफजाई दुवैको भविष्यमा मनोविज्ञ बन्ने र अफगानिस्तान तथा अष्ट्रेलिया दुवै मुलुकमा लैंगिक समानता प्रबर्द्धन गर्नका लागि सक्रिय हुने चाहना छ । तर तत्कालको उनीहरुको चाहना चाहिं मात्र आफ्नो मनपर्ने खेल खेल्नु रहेको छ ।
युसोफजाई भन्छिन्- मैले कडा मेहेनत गरेको आफ्नो टिम खेलमा पुनरागमन गरोस् भन्ने मेरो चाहना छ । राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा गर्नका लागि मैले धेरै चुनौतीको सामना गरेकी थिएँ । तर अहिले भने म अफगानिस्तानको नामबा खेल्न पाउँदिन । आफ्नो अधिकार प्राप्त होस् र हामीालाई मानिसलाई जस्तै व्यवहार गरियोस् भन्ने मेरो चाहना हो । अफगानिस्तानमा पुरुष खेलाडीलाई जस्तो व्यवहार गरिन्छ, महिलालाई पनि त्यस्तै व्यवहार उनीहरुले गरुन् भन्ने चाहना छ ।
बीबीसी