कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो



सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ।

कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ।

उनका अनुसार सुर्खेत १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा ‘ख’ निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’ बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।

उनका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छ । कांग्रेसभित्र बिसी संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् । यस्तै मन्त्रालयको सख्या ८ कायम गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।