सामुदायिक विद्यालयमा विद्यार्थी घटे



काठमाडौँ। सामुदायिक विद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको देखिन्छ। निजी विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दै गएको छ। महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले सामुदायिक विद्यालयमा विद्यार्थी घटेको र निजीमा भनेको बढेको देखाएको हो।

शैक्षिक सत्र २०७४ को तुलनामा २०७८ मा कुल विद्यार्थी सङ्ख्या ८.७७ प्रतिशतले घटेको देखिएको छ । ती मध्ये सामुदायिक विद्यालयमा २०.१४ प्रतिशतले घटेको देखाएको छ। तर, निजी विद्यालयमा भने २०७४ को तुलनामा २०७८ मा ४७.५५ प्रतिशतले बढेको देखाएको छ।

आधारभूत तहमा ‘कक्षा १ देखि ८ सम्म’ कुल विद्यार्थी भर्ना सङ्ख्या बर्सेनि घट्दै गएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। २०७८ मा ७२।८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका छन्। भने २७.२ प्रतिशत बालबालिका निजी विद्यालयमा भर्ना भएका छन्। २०७७ मा भने सामुदायिकतर्फ ७६।२ प्रतिशत भर्ना भएका थिए। भने निजी तर्फ २३.८ प्रतिशत विद्यार्थी भर्ना भएका थिए।

नेपाल सरकारले सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्ने नीति ल्याएको छ । त्यसका लागि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा ल्याइएको छ।

विद्यालय जाने सबै उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गरी निःशुल्क शिक्षा उपलब्ध गराउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा लगायतका कार्यक्रममा बर्सेनि खर्च बढाउँदै लगेको छ। तर, सरकारीमा विद्यार्थी सङ्ख्या घट्दो र निजीमा बढ्दै गएको देखिन्छ।

सबै बालबालिका विद्यालयमा अनिवार्य भर्ना र निःशुल्क शिक्षाको लागि शिक्षा क्षेत्रमा सरकारी खर्च वृद्धि भइरहेको अवस्थामा सामुदायिक विद्यालयहरूमा अपेक्षित रूपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेका कारण विद्यार्थीको आकर्षण घटेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ। सबैलाई अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको कार्यक्रम सफल बनाउन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।