सिन्धुली र बैतडी सवारी दुर्घटनामा १० जनाको मृत्यु



सिन्धुली। बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ स् ३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन। “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने। शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन।

त्यस्तै बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ।

जीप सवार पाँच जना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ।​ झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।