आरआरमा स्ववियु चुनाव चैत २६ मा हुने



काठमाडौँ। आरआर कलेजमा विद्यार्थीबीच मतदाता नामावलीमा मतभिन्नता भई स्थगित भएको स्ववियु चुनाव यही चैत्र २६ मा हुने भएको छ।

विद्यार्थीले कलेज प्रशासन, निर्वाचन समिति र लेखामा लगाएको ताला खोलेका छन् भने चुनाव गराउन संगठनहरू राजी भएका छन् ।

त्रिवि शिक्षाध्यक्षले छानबिन गर्न बनाएको समितिले सकारात्मक प्रतिवेदन दिएपछि त्रिविले चुनाव गराउन आजै कलेज प्रशासनलाई निर्देशन दिएको थियो । कलेजको निर्वाचन कमिटीले चुनावको अन्तिम तालिका प्रकाशन गर्नुका साथै मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

कलेज प्रशासनले आजदेखि कलेज प्रवेश गर्न अनिवार्य परिचयपत्र चाहिने सूचित गरेको छ भने कलेजमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कलेजको चुनावका लागि पूर्ण सुरक्षा व्यवस्था गरिने आश्वासन कलेज प्रशासनलाई दिएका छन् ।

यसअघि पाटन उच्च अदालतले स्ववियु चुनाव गराउन कलेज प्रशासनका नाममा परमादेश दिइसकेको छ ।