दाङ। नेपाली कांग्रेसकी युवा नेता एवं लुम्बिनी प्रदेशकी सांसद निमा गिरीले ‘लुम्बिनी विशेष पत्र’ जारी गर्न माग गरेकी छन्।
सोमवार सुरू भएको प्रदेश सभा अधिवेशनमा सम्बोधन गर्दै सचेतक गिरीले यस्ताे माग गरेकी हुन्। पछिल्लो समय जनताले राजनीतिक दल र नेताहरूमाथि प्रश्न उठाइरहेको स्मरण गर्दै सांसद गिरीले भनेकी छन्, ‘हामी जहाँनेर उभिएका छौं, त्यहाँनेर जनताका गम्भीर प्रश्न छन्। गएको पाँच वर्ष हामीले काम गर्न सकेनौं अथव गरेको कामलाई जनताका बीचमा लैजान सकेनौं ? हामीले कति काम गर्न सक्यौं ? अब हामीले के के काम गर्छौं? त्यसको बारेमा ‘लुम्बिनी विशेष पत्र’ जारी गरौं।’
लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी गिरीले केन्द्रको मुख ताकेर बस्ने प्रवृतिले प्रदेश संरचनामाथि गम्भीर प्रश्न उठेको भन्दै संविधानले दिएका अधिकार र आफूसँग भएका साधन स्रोतको परिचालन गर्नपर्नेमा जोड दिएकी छन्। सचेतक गिरीले प्रदेश सरकारा केन्द्रीकृत मानसिकता देखिएको भन्दै केन्द्रले अधिकार दिएन भनेर बस्नुको साटो भएका अधिकार प्रयोग गर्नुपर्ने बताइन्।
साथै राजनीतिक स्टन्टबाजप्रति कुनै तर्क नभएको बताउँदै उनले संघीयतालाई बलियो बताउनुपर्ने र बजेटलाई प्राथमिकताको आधारमा वितरण गरिनुपर्नेमा जोड दिइएकी छन्। कनिका छरे जसरी बजेट नछर्न सांसद गिरीको सुझाव छ।
सांसद गिरीले लुम्बिनीका तराई र पहाडका जिल्लामा विषाक्त मदिराका कारण सर्वसाधारणको ज्यान गइरहेको भन्दै मापदण्ड बाहिरका मदिराको विक्रीवितरण रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले राजश्व आउने नाममा सरकारले विषको व्यापारलाई संरक्षण गरिरहेको भन्दै सोफीलगायतका विषाक्त मदिराको विक्री र सेवन बन्द गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्।