पोखरा। व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधि आइतबार पक्राउ परेका छन्।
माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन्। रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए।
व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए। फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन्। आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए।
सन्तोष परियारका दुई छोरा साहिल र समीरलाई दानदक्षिणा गरेर उनी भतेरतिर लम्किए । भान्सामा खटिएकी स्थानीय सरिता लामिछानेले थर सोधेपछि उनले आफू परियार भएको बताए । ‘दमाई’हरुका लागि छुट्टै भान्सा भएको भन्दै लामिछानेले उनलाई २० मिटर परै रोकिन् ।
नारायणले छुट्टाछुट्टै भान्सा हुनु गलत रहेको बताएर भतेरतिर अघि बढे । त्यतिबेलै वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्टाइदिए । स्थानीय २७ वर्षीय सुजन लामिछाने ‘दमाईहरु बाहुनको भान्सामा आउने’ भन्दै बम्किएका थिए ।